चलचित्र 'काठमाण्डू' का निर्माता, नायक तथा निर्देशक आकाश अधिकारी नेपाल फर्केका छन् । गत पौष २३ गते आफ्नो चलचित्रको प्रदर्शन गर्न युरोप भ्रमणमा निस्केका अधिकारी करिब दुई महिनाको बिदेश भ्रमण पछि शुक्रबार नेपाल फर्केका हुन् ।
चलचित्र 'काठमाण्डू' लाई जर्मन, स्पेन, बेल्जियम, अमेरिका तथा क्यानडामा प्रदर्शन गरी दर्शकको राम्रो प्रतिक्रियाको साथमा राम्रो पैसा पनि बटुलेर नेपाल आएका अधिकारीले अबको केहि दिनमा नेपालमा पनि सो चलचित्र प्रदर्शन हुने बताएका छन् । डिसिएन नेपालले डिस्ट्रिब्युसनको जिम्मा लिएको सो चलचित्रले बैशाख १८ गते प्रदर्शनको पालो पाएको छ । त्यसैले यो चलचित्र बैशाख १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।
आफ्नो चलचित्रको प्रदर्शन मिती नजिकिए पछि प्रदर्शनको चाँजो पाँजो मिलाउन हतार हतार गरेर नेपाल आउनु परेको अधिकारीले फिल्मीखबरलाई जानकारी दिए । उनले भने, 'अब नेपालमा चलचित्रको मज्जाले पब्लिसिटी गर्छु र राम्रो सँग चलाएर पुन: बिदेशमा लिएर जान्छु ।' चलचित्रलाई प्रदर्शन गर्न थुप्रै देशबाट अफर आएको अधिकारी बताउँछन् ।
चलचित्र 'काठमाण्डू' गत जनवरी १७ तारिखको दिन जर्मनी शहरको UNION Kinos im Forum, Hans-bo"ckler-platz10, 45468Mu"lheim/Ruhrमा भव्य प्रदर्शन भएको थियो भने अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन हाईट सिनेमा घरमा करिब दुई सातासम्म लगातार प्रदर्शन भएको थियो । यसैगरी सो चलचित्र स्पेन, बेल्जियम तथा क्यानडाका सिनेमा घरमा पनि राम्रोसँग प्रदर्शन भएको अधिकारीले बताए ।
काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको चलचित्र 'काठमाण्डू' मा आकाश अधिकारी, रिया मार्फी, प्राप्ती घिमिरे, रेश मरहठ्ठा, गौरी मल्ल, संयुक्ता राणा, नबिन अधिकारी, ममता प्रधान, सुनिल दत्त, अर्जुन श्रेष्ठलगायतले अभिनय गरेका छन् । स्काई मुभिजको ब्यानरमा निर्माण गरिएको सो चलचित्रलाई आकाश अधिकारी र बेन नबिन अधिकारीले निर्माण गरेका हुन् । चलचित्र 'काठमाण्डू' नेपालमा पहिलो पटक रेड क्यामेराले खिचेको चलचित्र हो ।