नेपाली चलचित्रको व्यवसायीको लागि धरानलाई नैपालकै एक महत्वपूर्ण स्टेशनका रुपमा चिनिन्छ । निर्माताहरु आफ्ना चलचित्रलाई जसरी भए पनि रिलिज डेटमै धरानमा प्रदर्शन गर्न तछाड मछाड गर्छन् ।
धरानमा यतिबेला शिब सिनेमा र गणेश टाँकिज गरी दुई चलचित्र भवन सञ्चालनमा छन् । संकटकालमा बन्द रहेको शिब सिनेमा दुई बर्ष यता गोपीकृष्ण मुभिजले ठेक्कामा सञ्चालन गरेको छ भने गणेश टाकिजले अनवरत रुपमा नेपाली चलचित्र प्रदर्शन गरिरहेको छ । क्युव डिजिटल जडित शिव सिनेमाले अधिकांश हिन्दी चलचित्र मात्र प्रदर्शन गर्छ । हिन्दी चलचित्र नहुँदा पनि गोपीकृष्णले आफै वितरण गरेको चलचित्र प्रदर्शनमा आउँछ । डिजिटल प्रविधि सहित सञ्चालित शिब सिनेमा धराने दर्शक बिशेषत: हिन्दी चलचित्र हेर्न रुचाउँछन् । गोपीकृष्ण र यस निकट अन्य केही वितरक बाहेक अन्यले वितरण गर्ने नेपाली चलचित्र लगाउन गाह्रो छ शिव सिनेमामा ।
उता गणेश टाकिज पनि डिजिटल प्रबिधिमा परिवर्तन हुँदैछ । २०६८ बैशाखबाट यो हल पनि क्युव प्रविधि सहित सञ्चालनमा आउँदैछ । नेपाली चलचित्र मात्र लाग्ने यस हलमा यतिबेला डिसिएनबाट वितरित चलचित्र प्रदर्शन गार्हो छ । अरु ठाउँका दर्शकले डिसियनले वितरण गर्ने चलचित्र रिलिज डेटमै हेर्न पाइरहँदा धरानका दर्शक भने यो सुबिधाबाट बञ्चित छन् । डिभीबाट केही समय पहिले डिसिएनको चलचित्र प्रदर्शन भइरहेको गणेश टाकिजमा बाटो मुनीको फूलको पाइरेसी पछि प्रदर्शन हुन गार्हो भएको छ र प्रदर्शन भएमा पनि निर्माता आफै रिक्स लिएर चलचित्र लगाइरहेका छन् ।
त्यस्ता धेरै चलचित्र छन् जुन धरानमा प्रदर्शन भएको छैन । चलचित्र मेरो एउटा साथी छ धरानमा सार्वजनिक प्रदर्शन हुनै पाएन । त्यसैगरी विनोद अर्यालको माया त माया हो, सुरज आरडीको भुल भए माफ गर, नरेश पौडेलको दिप शीखा, श्रीकृष्ण लुइँटेलको बस नं. १३६, राजेन्द्र उप्रेतिको मन मनै मन पराए, प्रशन्न पौडेल निर्देशित स्वर र भर्खरै रिलिजमा आएको व्याच नं. १६ ले पनि धरानको हलमा रिलिजको डेट पाएका छैनन् ।
यस अघि डिसिएन वितरित अन्य थुप्रै सिनेमाहरु पनि धरानमा प्रदर्शन मिति भन्दा ढिलो चले । गोर्खा पल्टन र फस्ट लभले धरानमा राम्रो व्यापार गरेको थियो । टिभी रेडियोमा चलचित्रको रिलिज डेट थाहा भएर चलचित्र हेर्न सोही दिन हल जाँदा चाहेको चलचित्र प्रदर्शन नहुँदा धैरै दर्शन निराश पनि भएका छन् । वर्तमान समय हरेक हप्ता नयाँ चलचित्र प्रदर्शनमा आइरहने हुँदा यी अड्किएका डिसिएन वितरित चलचित्र कहिलै धरानका हलमा लाग्ने हो त्यसो अत्तोपत्तो छैन ।
डिजिटल प्रविधिको व्यवसायको नाममा यतिबेला तीन संस्था चलचित्र उद्योगमा खुलेका छन् । विशेषत आफ्नो संस्थाको सर्भरलाई बढावा दिन र हलहरुमा प्रयोग गर्न आफ्नै हिसाबबाट विभिन्न राजनीति भइरहैको हुनाले यो स्थिति सिर्जित भएको बुझिएको छ । एउटा सर्भरले वितरण गरेको चलचित्र अर्कोले नलगाउने प्रवृत्ति बढ्दै जाँदा अन्तत: निर्माता र त्यो चलचित्रलाई घाटा पुगेको छ । निर्मातालाई राम्रो शेयर दिने स्टेशनको रुपमा परिचित धरानमा प्रदर्शन गर्न धैरै संघर्ष र चाप्लुसी गर्दा पनि लगाउन नपाउँदा माथि उल्लेखित चलचित्रका निर्माता निर्देशक निराश बनेका छन् । यसरी विविध राजनीतिले विरामी बनाएको नेपाली चलचित्र उद्योगलाई सफा, स्वच्छ राख्न सम्पूर्ण चलचित्रकर्मी, हल सञ्चालक, वितरकमा एकता हुन आवश्यक दैखिन्छ ।