चलचित्र मैनाका निर्देशक केपी पाठक युरोप भ्रमणमा निस्कँदै छन् । चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका पाठक चलचित्र 'मैना' लाई यूरोपियन मुलुकमा प्रदर्शन गर्न त्यसतर्फ जान लागेका हुन् । मार्च १७ तारिख बिहिबार राति ११ बजे उनी युरोपियन देश बेल्जियम जानेछन् । १८ तारिख बेल्जियम पुगी १९ तारिखका दिन बेल्जियममा चलचित्र 'मैना' प्रदर्शन हुने पाठकले फिल्मीखबरलाई जानकारी दिए ।
चलचित्र 'मैना' लाई बेल्जियममा प्रदर्शन गरेपछि युरोपकै जर्मनी, स्पेन, फ्रान्स र पोर्चुगलमा प्रदर्शन गर्ने पाठकले जानकारी दिए । एक महिनाको भ्रमण भिषा लगाएका पाठकले एक महिना भित्रमा युरोपका अन्य मूलुकमा पनि चलचित्र प्रदर्शन गर्न पहल गर्ने बताए । युरोपमा चलचित्र प्रदर्शन गरेर नेपाल फर्के पछि पुन: अन्य देशमा पनि प्रदर्शन गर्न जाने पाठकले बताए ।
सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र 'मैना' नेपाली सेनाको चरम यातनाबाट पाँचखालस्थित ब्यारेकभित्रै हत्या गरिएकी खरेलथोककी किशोरी मैना सुनुवारको कथामा आधारित छ । वास्तवमा मैना सुनारले भोगेको कहालीलाग्दो जीवन र उनको परिवारको पीडालाई चलचित्रले देखाउन खोजेको निर्देशक पाठकको भनाई छ । यसैगरी चलचित्रमा मैना मात्र नभई बेपत्ता पारिएका हजारौं अवोध एवं निर्दोष नागरिकहरुको वेदना प्रतिबिम्बित भएको पाठकले बताए ।
चलचित्रमा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् । अनिताको साथमा सो चलचित्रमा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् । द्वन्द्वको तत्कालीन परिवेश र पृष्ठभूमिमा आधारित 'मैना'को कथालाई पटकथामा ढाल्न लेखक नयनराज पाण्डेले साथ दिएका छन् । केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेको सो चलचित्रमा रामेशको संगीत, कुमार महर्जनको द्वन्द्व र जीवनाथ सुवेदीको छायांकन रहेको छ ।
भगवती माविमा कक्षा ९ मा पढ्दै गरेकी १५ बर्षीया किशोरी मैनालाई २०६० साल फागुन ५ गते बिहानै अपहरण गरी सेनाले पाँचखालस्थित ब्यारेकभित्रै हत्या गरेर व्यारेक भित्रै गाडेको थियो । मैनालाई कुन दिन मारियो भन्ने ऐकिन नभएपनि अपहरण गरेकै दिन पानीमा चोपेर करेण्ट लगाउने जस्ता चरम यातना दिएर मारिएको मानव अधिकारीवादी इन्सेक लगायतका संस्थाहरुको प्रतिवेदनले देखाएको छ ।किशोरी मैनाको संयुक्त राष्ट्र संघ लगायतका टोलीले पाँचखाल ब्यारेक भित्रबाटै मैनाको लाश उत्खनन गरेका थिए ।
आफ्नो छोरीको हत्या सेनाले गरेपछि त्यसको विरुद्ध मैनाकी आमाले पक्राउ गर्ने र मार्ने सेनाहरुलाई विपक्षी बनाई २०६२ साल कार्तिक २७ गते अदालतमा मुद्दा दायर गरेकी थिइन । शसस्त्र युद्धको बेलाको मैनाको यस्तो कारुणिक कथालाई निर्देशक पाठकले पर्दामा उतारेका हुन् ।