नायिका ऋचा शर्माको बोलीमा धेरै परिवर्तन आएको छ । उनको बोली निकै खरो भएको छ । उनी मुखमा जे आयो त्यही बोल्छिन् । हामीलाई छाडा शब्द बोल्न लाज लाग्छ तर ऋचालाई भने त्यस्ता शब्द बोल्न कुनै लाज लाग्दैन । उनले बोल्ने शब्द हामीलाई पाच्य हुँदैन । तर उनले बोलेका शब्दहरू मात्र चलचित्रमा सुन्न सकिनेछ ।
छायाँकन भईरहेको चलचित्र 'हाईवे' मा नायिका ऋचा एक बार डान्सर युवतीको भुमिकामा प्रस्तुत भएकी छिन् । बार डान्सर ऋचाले चलचित्रमा प्रयोग गरेका केहि संवादहरू छाडा छन् । कथाको माग भएकोले ति शब्दहरू बोल्न ऋचा बाध्य छिन् । जीवनमा त्यस्ता शब्दहरू नबोलेकी ऋचालाई शुरूमा निकै अफ्ठ्यारो भएछ तर दुई तीन दिनमा उनलाई केहि सहज भयो र उनले निर्धक्क त्यस्ता शब्द बोल्न सकिन् । तर ऋचाले बोलेका ती संवादहरूलाई सेन्सर बोर्डले भने कैंची लगाउने पक्कै छ । अर्थात उनले बोलेका संवादहरूलाई म्यूट (टिंट) गर्नुपर्ने हुनसक्छ । सेन्सर बोर्डले संवादमा कैंची लगाए पनि एक्सप्रेशन र लिप्सिङबाट दर्शकले ती शब्दहरू बुझ्न सक्ने ऋचाको भनाई छ ।
नायिका ऋचालाई छाडा शब्द बोल्न जति गार्हो भयो त्यति नै गार्हो चुरोट खान पनि भयो रे ! पर्दामा कविता नामक युवतीको भूमिका निर्वाह गरेकी ऋचाले वास्तविक जीवनमा कहिल्यै चुरोट नखाएको बताउँछिन् । चलचित्रमा निर्वाह गरेको भुमिकाले चुरोट खान बाध्य बनाएपछि उनलाई केहि दु:ख त लाग्यो नै तर पनि उनी आफ्नो भुमिकाबाट निकै खुसी छिन् । उनी भन्छिन्, 'मेरो भूमिका चुनौतीपूर्ण छ र यस्तो काम गर्न मलाई निकै मन पर्छ ।'
अहिलेसम्म अभिनय गरेका चलचित्रमा खासै ननाचेकी नायिका ऋचालाई यो चलचित्रमा आईटम डान्स गर्न पनि केहि गार्हो भएछ । कोरियोग्राफर पुनम राईसँग आठ घण्टा डान्स सिकेर स्टेजमा डान्स गर्न पुगेकी ऋचाको डान्स देखेर कोरियोग्राफर खुसी छन् । उनका अनुसार करिब एक सातासम्म डान्स गर्न सिकाएको भए ऋचाले ज्यानमारा डान्स गर्न सक्ने बिश्वास राईको छ । तर समयले साथ नदिएपछि ऋचाले ज्यानमारा डान्स गर्न नसकेपनि दर्शकलाई उनको डान्स मनपर्ने कुरामा राई बिश्वस्त छन् ।
माघ महिनाको दोस्रो साताबाट शुरू गरिएको चलचित्र 'हाईवे' को छायाँकन आईतवार सम्ममा सक्ने निर्देशक दिपक रौनियारको भनाई छ । काठमाडौं, धरान, फिक्कल, झापा, हेटौंडा र दमकका विभिन्न स्थानमा छायाँकन गरिएको सो चलचित्रमा कर्म, बिनय श्रेष्ठ, दयाह्याङ राई, सौगात मल्ल, बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र मिश्र लगायतले अभिनय गरेका छन् । राजमार्ग तथा समाजका विभिन्न पाँच क्षेत्रमा देखिएका समस्यालाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक रौनियारको भनाई छ । आदि प्रोडक्सनको ब्यानरमा समिर मणी दीक्षित र लोनिम प्रसाई दीक्षितले चलचित्रलाई निर्माण गरेका हुन् ।