चर्चित क्यामराम्यान शम्भु सापकोटाका सुपुत्र बिज्ञान सापकोटा नेपाली चलचित्र क्षेत्रमा स्थापित कलाकार हुन चाहन्छन् । नेपाली चलचित्रलाई भित्री मन देखि माया गर्ने नौ बर्षे यि बालक स्वाभावैले कलाकार बन्न जस्ता देखिन्छन् ।
बच्चै देखि चलचित्र भनेपछि हुरुक्कै हुने बिज्ञानलाई नेपाली चलचित्रको बारेमा धेरै कुरा थाहा छ । कारण उनी अधिकांश नेपाली चलचित्र हेर्नेगर्छन् । उनले पछिल्लो पटक हेरेको चलचित्र 'व्याच नं १६' रहेछ । जुन चलचित्र उनलाई मन परेछ । उनी नेपाली चलचित्र प्राय: आफ्ना बुवासँग गएर हेर्छन् रे । बिकाश आचार्यकै चलचित्र 'नाइ नभन्नु ल' अहिले सम्म हेरेको चलचित्र मध्ये सबैभन्दा बढि मन परेको चलचित्र हो रे । उनलाई सो चलचित्रको कथा निकै मन परेछ । कलाकारमा जीवन लुईटेल, आर्यन सिक्देल र राजबल्लभ कोईराला मन पराउने बिज्ञानलाई कुनै हिरोईनले भने राम्रो छाप छोड्न सकेका छैनन् । उनी भन्छन्, 'मलाई खासै कोही हिरोईन मन पर्दैन ।'
आफ्नो सानै देखिको कलाकार बन्ने रहरलाई उनले आज पूरा गर्न खोज्दैछन् । छायाँकनमा रहेको बिकाश आचार्य निर्देशित चलचित्र 'म तिम्रो भईसकें' मा बिज्ञान बालाकारको रूपमा प्रस्तुत हुँदैछन् । अहिलेसम्म उनले 'म तिम्रो भईसकें' मा अभिनय गरे ति सबै कामबाट निर्देशक आचार्य खुसी छन् । उनी भन्छन्, 'उसले राम्रो काम गर्छ भनेर नै मैले लिएको हुँ र उसले त मैले सोचेको भन्दा राम्रो काम गरेर देखाएको छ ।' निर्देशक आचार्य थप्छन्, 'निकै चञ्चले, फुर्तिलो तथा तेज दिमाग भएको बिज्ञान साँच्चिकै बिज्ञान जस्तै छ ।'
बिज्ञानको पात्रमै चलचित्रको कथा घुमेकोले उनी चलचित्रको हिरो नै रहेको चलचित्रका नायक जीवन लुईटेल बताउँछन् । यसैगरी नायिका ऋचा सिंह ठकुरीले पनि उनको कामको खुलेर प्रशंसा गरिन् । यता उनका पिता शम्भु पनि छोराको कामबाट सन्तुष्ट छन् । उनी भन्छन्, 'चलचित्र त निकै हेर्न खोज्थ्यो तर यस्तो राम्रो अभिनय गर्छ जस्तो लागेको थिएन तर राम्रो अभिनय गर्दो रहेछ ।'