नेपाली चलचित्रको व्यवसायका लागी महत्वपूर्ण स्थाम मानिने पूर्वी शहर 'धरान' मा चलचित्र 'स्वर' ले बल्ल प्रदर्शनको मौका पाएको छ । चलचित्र सोमबारबाट शिब सिनेमामा लागेको छ ।
गत माघमा देशभर प्रदर्शन भएको चलचित्र 'स्वर' धरानमा भने प्रदर्शन हुन सकेको थिएन । देशभर प्रदर्शन भएर थन्किएको बेला धरान बासीहरूले भने बल्ल 'स्वर' हेर्न पाएका छन् । देशभर 'स्वर' को चर्चा चुलिएको बेला धरानबासी दर्शकहरू भने 'स्वर' बाट अनबिज्ञ नै थिए । 'स्वर' हेर्न नपाएर निराश बनेका धरान बासीहरूको मुहारमा बल्ल खुसी छाएको छ ।
धरानमा शिब सिनेमा र गणेश टाँकिज गरी दुई चलचित्र भवन सञ्चालनमा छन् । जसमध्ये शिब सिनेमालाई गोपीकृष्ण मुभिजले ठेक्कामा लिएर आफ्नो च्यानलका चलचित्र र हिन्दी चलचित्र प्रदर्शन गर्दै आएको छ भने गणेश टाकिजमा डिभीबाट नेपाली चलचित्रमात्र प्रदर्शन हुँदै आएको छ । चलचित्र 'स्वर' लाई डिसियनले बितरण गरेकोले धरानका यि दुई हलमा डिसियनको सर्भर नहुँदा स्वर चल्न सकेको थिएन । अहिले कुनै पनि हिन्दी चलचित्र रिलिज नहुँदा र गोपीकृष्णसँग पनि आफ्नो चलचित्र नहुँदा शिब सिनेमाले 'स्वर' चलचित्र रिलिज गरेको हो ।
यस अघि डिसिएन वितरित अन्य थुप्रै सिनेमाहरु पनि धरानमा प्रदर्शन मिति भन्दा ढिलो चलेका थिए । देशभरका दर्शकहरूले डिसियनले वितरण गर्ने चलचित्र रिलिज डेटमै हेर्न पाइरहँदा धरानका दर्शक भने यो सुबिधाबाट बञ्चित थिए । अब भने गणेश टाकिज पनि डिजिटल प्रबिधिमा परिवर्तन हुँदैछ जसले गर्दा डिसियनले वितरण गर्ने चलचित्र पनि धरानका दर्शकले समयमै हेर्न पाउने छन् ।