कुनै समय यस्तो थियो कि कान्तिपुर साप्ताहिकको व्लोअप देखि लिएर अन्य साप्ताहिक पत्रिकाका व्लोपमा सुशन खड्काको तस्विर नछापिएको साता नै हुदैनथ्यो । यानकी उनको फोटो छाप्न सम्पादकहरू निकै लालायित हुन्थे भन्दा पनि फरक नपर्ला ।
केहि समय अगाडी मात्र प्रिन्ट मिडियामा मोडलिङको स्थान जमाएकी मोडल सुशन अहिले भने त्यस क्षेत्रबाट केहि टाढा छिन् । सन् २००३ तिर ग्ल्यामर फोटोग्राफर राजभाई सुवालको क्यामेरामा कैद भएपछि मोडलिन यात्रा शुरू गरेकी सुशनले करिब पाँच बर्षसम्म मोडलिङ पेशालाई अंगालिन् । शरिरले साथ दिएपछि मोडलिङमा भबिष्य खोजेकी सुशनले केहि बर्ष अघि सो क्षेत्रमा भबिष्य नदेखेर फोटोग्राफीमा आफ्नो भबिष्य खोज्न थालिन् । उनले फोटोग्राफी सम्बन्धी तालिम पनि लिईन् तर सो क्षेत्रमा पनि उनले भबिष्य नदेखेपछि भबिष्य खोज्न दुबई तिर लागिन् ।
दुबई पुगेर उनले बुटिक खोलिन् । बुटिकले उनलाई राम्रै फाईदा दिएको थियो तर दुर्भाग्य दुई बर्षमै सुशन नेपाल आउनु पर्यो । आफ्नी सानी आमाले यो संसार छोडेर गएपछि उनी पनि दुबई छोडेर नेपाल आउनु पर्यो । नेपाल आएको करिब ६ महिना बित्न नपाउँदै पिताले पनि संसार छाडेपछि सुशनले दुबईको आफ्नो व्यवसाय सदाका लागी छाड्नु पर्यो । बुटिकले राम्रो फाईदा दिँदादिँदै पनि बाध्य भएर बुटिक व्यवसाय छोडेकी सुशनले चलचित्र निर्देशनमा आफ्नो भबिष्य खोज्न थालिन् । उनले चलचित्र मालतीको भट्टिमा सहायक निर्देशक भएर काम पनि गरिसकेकी छिन् । सहायक निर्देशक भएर केहि अनुभव बटुलेकी सुशनलाई यो क्षेत्रमा पनि भबिष्य सुनिश्चित होला भन्नेमा बिश्वास छैन । तर पनि उनले हार भने मानेकी छैनन् ।
यि बाहेक सुशनले ड्रेस डिजाईनको काम पनि गरेकी छिन् भने उनी कलाकार पनि हुन् । केही टेलिचलचित्रमा अभिनय गरेकी सुशनले करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने करिब आधा दर्जन बिज्ञापनमा पनि मोडलिङ गरेकी छिन् र केहि चलचित्रमा अभिनय गर्न प्रस्ताव पनि आएको सुशन बताउँछिन् । यो बाहेक सुशनसँग लुकेको अर्को प्रतिभा पनि छ । उनी राम्रो गीत पनि लेख्छिन् । करिब पचास वटा गीत लेखिसकेकी सुशनले अहिले आफ्नै लगानीमा एउटा एल्बम पनि निकाल्दै छिन् ।
प्रदर्शनको क्रममा रहेको शोभित बस्नेतको चलचित्र 'राज' र शोभितकै निर्माणाधिन एक चलचित्रका लागी गीत लेखेकी सुशनले अब चलचित्रका लागी गीत नलेख्ने बताउँछिन् । चलचित्रमाकर्मीले गीतको फिलिङ्सलाई नबुझ्नाले आफ्नो गीतको मूल्य नहुने भन्दै चलचित्रका लागी गीत नलेख्ने उनको भनाई छ ।
बहुमुखि प्रतिभाकी धनी सुशनले गीत लेखनबाट नै सबैभन्दा सन्तुष्टी मिलेको बताउँछिन् । तर पनि उनी गीत लेखनमा आफ्नो भबिष्य देख्दिनन् । थुप्रै कामबाट अनुभव बटुलेकी सुशनलाई भबिष्यको बारेमा निकै चिन्ता छ । उनी भन्छिन्, 'म जे काम पनि गर्न सक्छु तर मेरो भबिष्य कुन क्षेत्रमा छ भनेर सोच्न सकेकी छैन ।' एउटै पेशा अंगालेर बाँच्न गार्हो हुने भन्दै सुशन भन्छिन्, 'सबै पेशा अंगाल्दा यता न उता हात लाग्यो जुत्ता हुने होकी भन्ने डर पनि लाग्छ । त्यसैले के गर्ने के नगर्ने भनेर म अन्यौलमा परेकी छु ।'