ऋषि लामिछानेले निर्देशन गर्ने भनिएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को शुभसाईत बुधबार गरिएको छ । टेकु स्थित परेली रेष्टुरेन्टमा चलचित्रको शुभसाईत गरिएको हो ।
मानविय जीवनको नितान्त आवश्यक चिज प्रेम भएको भन्दै चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' पूर्ण रूपमा प्रेमकथामा आधारित रहने निर्देशकले कार्यक्रममा जानकारी दिए ।आफ्नो मान्छे मात्र हैन शत्रुलाई पनि आफूले माया गर्ने गरेको बताउँदै निर्देशक लामिछानेले भने, मैले निर्देशन गर्न लागेको चलचित्रले पनि यहि कुरालाई प्रतिबिम्बित गर्दछ ।' प्रेमलाई प्रकृतिको उपहार मान्ने निर्देशक लामिछानेले आफ्नो चलचित्र पनि नेपाली चलचित्रलाई माया गर्ने दर्शकका लागि एउटा आकर्षक उपहार हुने बताए ।
काबिल फिल्मका लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुती रहने सो चलचित्रलाईनारायण कुमार पाण्डे 'काबिल', गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गर्दैछन् । चलचित्रका प्रस्तुतकर्ता भने प्रदिप उदय हुन् । शिबम् अधिकारीको कथा रहेको सो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, मुकेश ढकाल, नीता ढुंगाना, सुनिल थापा, शिबहरी पौडेल, सरोज केसी, राजकुमार, सुशन खड्का र निर्मल शर्माको मुख्य अभिनय रहने बताईएको छ ।
चैत्र ११ गतेबाट छायाँकनमा जान लागेको सो चलचित्रमा महेश खड्काको संगीत, गोबिन्द राईको नृत्य, रोशन श्रेष्ठको द्वन्द तथा संजय लामाको छायाँकन रहने कार्यक्रममा जानकारी गराईयो । चलचित्रको छायाँकन काठमाण्डौ, बुटवल लगायतका स्थानमा गरिने कार्यकारी निर्माता नारायण कुमार पाण्डे 'काबिल' ले जानकारी दिए । चलचित्रका प्रस्तुतकर्ता प्रदिप उदयले यो चलचित्रको छायाँकन समाप्ती र मालतीको भट्टीको प्रदर्शनसँगै अर्को चलचित्र निर्माणको घोषणा गर्ने बताए । चलचित्रको अहिले स्क्रिप्टको काम भईरहेको निर्माता उदयले जानकारी गराए ।