नायिका नीता ढुंगाना बुधबार दिउँसो निकै लज्जित भईन् । सायद उनी यस्तो लज्जित कहिल्लै हुन परेको थिएन होला । कुरा हो चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को शुभसाईतको ।
बुधबार दिउँसो २ बजे चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूलाई टेकु स्थित परेली रेष्टुरेन्टमा बोलाईएको थियो । सबै जना समयमा नै कार्यक्रम स्थलमा आईपुगेका थिए तर कार्यक्रम भने साढे तीन बजिसक्दा पनि शुरू भएन । कार्यक्रम समयमै सञ्चालन हुन नसकेपछि सबै जना दिक्क मानिसकेका थिए । कार्यक्रम शुरू गर्न किन ढिला भईरहेछ भन्ने कुरा कसैले बुझ्न सकेनन् । सबैजना कराउन थाले कार्यक्रम शुरू गर्नुस् भनेर । तर पनि चलचित्र युनिटले सुनेको नसुन्यै गर्यो ।
जब घडीले साढे तीन बजेको संकेत दियो तब कार्यक्रम शुरू गरियो । डेढ घण्टा ढिलो कार्यक्रम शुरू हुनुको राज पनि खुल्यो । कार्यक्रम ढिला हुनुको मुख्य कारण नै चलचित्रकी नायिका नीता ढुंगाना समयमा आईनपुग्नु रहेछ । युनिटले नायिका नीता नआएसम्म कार्यक्रम शुरू नगर्ने अडान लिएर बसेको रहेछ । नायिका नीता आईन् अनि कार्यक्रम पनि शुरू भयो र करिब आधाघण्टामा नै कार्यक्रम सकियो । आधा घण्टामा सकिने कार्यक्रमलाई नायिका नीताले डेढ घण्टा कुराईदिईन् ।
डेढ घण्टा कुर्नुपर्दा दिक्का मानेका चलचित्रका निर्देशक ऋषि लामिछानेले सबैको सामु भने, 'नीता जि ले गर्दा कार्यक्रम ढिला हुन गएकोमा हामी क्षमा प्राथी छौं ।' सञ्चारकर्मीसँग माफ मागेपछि निर्देशक ऋषिले नीतालाई व्यङग्य गर्दै भने, 'म चाहन्छु कसैको कारणले गर्दा चलचित्र निर्माणमा बाधा नआओस् ।' ऋषिले यति भन्ने बित्तिकै नीतको अनुहार रातो भएर आयो । उनले बुझिन् मैले गर्दा सबैजना दिक्क मानेछन् । त्यसपछि उनले सबै जनाको अगाडी कान समातेर भनिन्, 'मैले गर्दा कार्यक्रम ढिला हुन पुगेकोमा सरी ! हुनत म आफ्नो कामलाई माया गर्ने मान्छे तर पनि मैले नचाहँदा नचाहँदै ढिला आउन बाध्य भएँ ।' सबै जनाको सामु माफ मागेपछि नीताले थपिन्, 'अब देखि मेरो कारणले कुनै काम पनि ढिला हुनेछैन । यो मेरो प्रतिबद्वता नै भयो ।'
आखिरमा नीता किन ढिला आईन् त ? कसैले यो बारेमा बुझ्ने प्रयास गरेन तर फिल्मीखबर डटकमले भने नीतालाई सोध्यो, 'तपाई किन ढिला आउनु भएको ?' नीताले पनि निर्धक्कका साथ फिल्मीखबर समझ आफू ढिला आउनुको राज खोल्दै भनिन्, 'मलाई पेटको समस्या थियो । त्यसैले म नचाहँदा नचाहँदै पनि ढिला आउन बध्य भएँ ।' हुनपनि उनको अनुहारमा अन्य दिनको जस्तो चमक थिएन । निलो कुर्ता सरवालमा कार्यक्रममा उपस्थित भएकी नीताको अनुहार फुङ्ग उडेको थियो । उनका आँखा पनि रसाएका देखिन्थे । आफू बिरामी भएर ढिला आएको भएपनि नीताले आफ्नो कारणले गर्दा सबै जना दिक्क मानेकोले कान समात्न पछि परिनन् । नीताले गल्ती गरे पनि उनले सबैको अगाडी कान समातेर माफि माग्नु नै नीताको महानता भएको बुझ्न सकिन्छ ।