गुण सिनेमा हल, ग्वार्कोमा एक सय दिन मनाउन सफल चलचित्र 'पटाचारा' को डिभिडी बजारमा आएको छ । बिहिबार ललितपुरको पुल्चोक स्थित बिशाल बजारमा एक कार्यक्रमका बिच सो डिभिडीको बिमोचन राज कुमार राई, अशोक शर्मा, प्रदिप उदय, छबि ओझा, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, बिदूर गिरी, शान्ति प्रिय, दिजेन्द्र शाक्य, बिजयरत्न तुलाधर लगायतका करिब एक दर्जन चलचित्रकर्मी र सञ्चारकर्मीले गरे ।
नेपालमा पहिलो पटक नेपाली भाषा र नेपाल भाषा गरी दुई भाषामा हेर्न मिल्ने गरी सो डिभिडी हाईटेक इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । चलचित्रलाई अंग्रेजी भाषामा पनि सबटाईल गरिएको हाईटेक इन्टरटेन्मेन्टका प्रमुख राजेन्द्र मानन्धरले जानकारी गराए । बौद्व कथामा आधारित एक लोकप्रिय पौराणिक कथालाई आधार मानेर निर्माण गरिएको सो चलचित्रलाई रामकृष्ण खड्गीले निर्देशन गरेका हुन् । गत बर्षको राष्ट्रिय चलचित्र अवार्डमा तीन बिधामा अवार्ड हात पार्न सफल सो चलचित्रलाई गुण सिनेमाले निर्माण गरेको हो ।
मेलिना मानन्धर, कर्म, लक्ष्मी गिरी र मदनदास श्रेष्ठको मुख्य अभिनय रहेको सो चलचित्र शुरूमा नेवारी अर्थात नेपाल भाषामा निर्माण गरिएको थियो तर पछि सो चलचित्रलाई पछि नेपाली भाषामा पनि डबिङ गरिएको हो । चलचित्रमा रवि सायमीको छायाँकन, रामकृष्ण खड्गी, नगेन्द्र राजोपाध्याय र रामकृष्ण दुवालको संगीत, सर्जु पिखाको सम्पादन तथा रामकृष्ण खड्गीको कथा रहेको छ ।
डिभिडी लञ्च कार्यक्रममा चलचित्रका निर्माता दिजेन्द्र शाक्यले जसरी पटाचारा बिभिन्न संघसंस्थालाई डोनेशन गर्नका लागी निर्माण गरिएको थियो त्यसैगरी अब छिट्टै नै अर्को चलचित्र पनि डोनेशन गर्नका लागी निर्माण गरिने बताए । नेपाल भाषाको मात्र नभएर नेपाली भाषाको एउटा चलचित्र पनि डोनेशनका लागी छिट्टै निर्माण गर्ने निर्माता शाक्यको भनाई थियो । डिभिडीको बिमोचनसँगै उपस्थित चलचित्रकर्मीले नेपाल भाषाको चलचित्रलाई पनि नेपाली भाषाको चलचित्रकै स्थानमा राख्नु पर्ने धारणा व्यक्त गरेका थिए ।