वर्तमान समय विज्ञान प्रविधिको हो । विभिन्न प्रविधिको विकाससँगै संसारमा विभिन्न आविष्कार भइरहेका छन् । प्रविधि, त्यसमा पनि डिजिटल प्रविधि त यतिबेला हरेक क्षेत्रमा हावी भइरहेको छ । नेपालको परिप्रेक्ष्यमा डिजिटल प्रविधिको प्रयोग एक क्षेत्रमा विशेष गरेर बढेर गएको पाइएको छ र त्यो क्षेत्र हो नेपाली सिनेमा र सिनेमा प्रर्दशन हुने भवनहरु ।
डिजिटल प्रविधिमा केन्द्रित रहेर धेरै नेपाली चलचित्र निर्माण भइरहेका छन् । यसले गर्दा नेपालका अधिकांश सिनेमा भवनहरु डिजिटलाइज्ड भइरहेका छन् । यसबाट एकातिर नेपाली चलचित्र र सिनेमा भवनको गुणस्तरमा वृद्धि भइरहेको त छ नै, एकैपटक देशभर एउटै चलचित्र प्रदर्शनमा ल्याउन समेत सम्भव भएको छ । भारतको यूएफओ सर्भरबाट करिब तीन वर्षअघि डिजिटल हिन्दी चलचित्रहरु डिजिटलाइज्ड रुपमा काठमाडौं र बाहिरका केही हलहरुबाट प्रदर्शनमा आएको थियो तर अहिलेको स्थितिमा नेपालभरका अधिकांश सिनेमा भवनले यो प्रविधिलाई प्रयोग गरिसकेका छन् ।
नेपाली चलचित्र समेत डिजिटल प्रविधिबाट प्रदर्शन हुने गरी डीसीएन, क्युब आमालगायतका सर्भरहरु डिजिटल प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । डीसीएन चलचित्र निर्माता अशोक शर्माको नेतृत्वमा झन्डै दुई दर्जन अन्य निर्माता, हलसञ्चालक र वितरकको लगानीसहित स्थापना भएको हो भने क्युब नामक अर्को डिजिटल सर्भरको नेपालमा गोपीकृष्ण मुभिजले सञ्चालन गरिरहेको छ । भर्खरै मात्र सञ्चालनमा आएको आमा नामक सर्भरमा भने निर्माता चिरञ्जीवी बस्नेत, कल्याण घिमिरे लगायतको लगानी छ । डीसीएन र आमा नेपालबाट सञ्चालित कम्पनी हुन् भने क्युब भारतबाट सञ्चालित छ ।
पूर्वाञ्चलका सिनेमा भवनले पनि पछिल्ला यी प्रविधिलाई अँगालिरहेका छन् । पछिल्लो तथ्याङ्क अनुसार पूर्वमा करिब तीसवटा सिनेमा भवन सञ्चालनमा छन् । बन्द भएका कतिपय हल डिजिटल प्रविधि सहित छन् भने कति खुल्ने क्रममा छन् । तीमध्ये झन्डै दुई दर्जन सिनेमा भवनमा डिजिटल प्रविधि राखिएको छ । धरानको गणेश टाकिज, दुहबीको गंगा चलचित्र मन्दिरलगायत अन्य केही हलहरु पनि डिजिटल प्रविधिसहित सञ्चालनमा आउँदैछन् ।
विकसित सहर जस्तै धरान, दमक, बिर्तामोड, विराटनगरका सिनेमा भवनमा त यो प्रविधि छ नै ग्रामीण स्थान झुम्का, विराटचौक, बेलबारी, पथरी, फिक्कल, चक्रघट्टी, बुधबारे, गौरादह लगायतका सिनेमा भवनले पनि अत्याधुनिक प्रविधि सहित चलचित्र प्रदर्शन गरिरहेका छन् । पूर्वका हलहरुमा पनि डीसीएन र क्युब कुन प्रविधिमा जाने हो त्यसको पनि प्रतिस्पर्धा बढेको देखिन्छ । दमक, बिर्तामोड, झुम्का, लहानलगायतका स्थानमा दुईवटै सर्भर भएका हलहरु छन् भने बुधबारे, दुहबी, बेलबारी, पथरी, चक्रघट्टी, गाईघाट, धरानमा क्युब मार्फत चलचित्र प्रदर्शन भइरहेका छन् ।
उता डीसीएनको प्रभाव फिक्कल, राजविराज, बाँसबारी, विराटचौक, गौरादह, भद्रपुर, उर्लाबारी लगायतका स्थानका सिनेमा भवनहरुमा छ । आमा नामको नयाँ सर्भरले भने पूर्वमा खासै प्रभाव जमाएको देखिँदैन । लेटाङ, मधुमल्ला, भोजपुरका हलहरुमा भने प्रिन्टबाट नै चलचित्र प्रदर्शन भइरहेका छन् । डीसीएन मार्फत प्रदर्शनमा आइरहेको चलचित्र यही सर्भर जडित हलमा मात्र लाग्ने गरेको छ । उता क्युबले वितरण गर्ने चलचित्रको स्थिति पनि त्यस्तै नै छ । यसरी दिन प्रतिदिन प्रविधिको विकासले गर्दा पूर्वेली दर्शकले आफ्नै गाउँमा रिलिज भएकै दिन चलचित्र हेर्न पाइरहेका छन् ।