एक महिना देखि पोखराका बिभिन्न रमणीय स्थलहरुमा छायांकन भइरहेको नेपाली कथानक चलचित्र 'परिचय' ले आफ्नो करिब ९५ प्रतिशत छायांकन पोखरामै सकेर आईतवार काठमाण्डौ लागेको छ । चलचित्रमा एउटा गीतमात्र बाँकी भएको र सो गीतको छायांकन मुम्बईमा हुने कुरा निर्माण पक्षले फिल्मीखवरलाई बताएको छ ।
बलिउड अभिनेत्री मोनिका बेदीद्वारा अभिनित नेपाली कथानक चलचित्र भनेर प्रचार गरिएको चलचित्र 'परिचय' लामो समयदेखि मुम्बई पलायन भएका नायक निखिल उप्रेतीद्वारा अभिनित पछिल्लो चलचित्र पनि हो । थुप्रै हिन्दी सिनेमाहरुमा मुख्य सहायक निर्देशक बनेर काम गरिसकेका निर्देशक आकाश पाण्डेद्वारा निर्देशित चलचित्र परिचयमा मोनिका बेदी र निखिल उप्रेतीका अलावा सुशील क्षेत्री, नागेन्द्र रिजाल नबीन श्रेष्ठ, रस्मी भट्ट, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
पारिवारिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा शिब ढकालको छायांकन, शेखर सन्तोषको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द, शिव बिक र गोविन्द राईको नृत्य रहेको छ । चलचित्र परिचयलाई २०६८ सालको जनैपूर्णिमाको अवसरमा रिलिज गर्ने लक्ष्य राखिएको र लगत्तै अर्को नेपाली चलचित्रको निर्माणमा जुट्ने कुरा निर्माता संजय नरेन्द्रले बताए ।