मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डेढ दर्जन चलचित्रकर्मीहरू माओवादीमा प्रवेश

फिल्मीखबर, काठमाण्डौ, 2011/03/29

करिब एक सय चलचित्रकर्मीहरू माओवादीमा प्रवेश गरेको दुई बर्ष बित्न नपाउँदै फेरी पनि करिब डेढ दर्जन चलचित्रकर्मीहरू सो पार्टीमा प्रवेश गरेका छन् । मंगलबार कोटेश्वरको पेरिसडाँडा स्थित माओवादी पार्टी कार्यालयमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' ले ति कलाकर्मीहरूलाई टिका र माला लगाएर आफ्नो पार्टीमा स्वागत गरेका थिए ।

 

अखिल नेपाल चलचित्रकर्मी संघ केन्द्रिय समितिले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा निर्देशकहरू दयाराम दाहाल, श्याम भट्टराई, प्रमोद भण्डारी, दिपक परिकोटी, नृत्य निर्देशक गोबिन्द राई, नायिका तथा निर्माता जेनी कुँवर, मेकअप म्यान गोपी सापकोटा, हाँस्यकलाकार महादेव त्रिपाठी, कलाकार शंकर आचार्य, राजकुमार शाह, छायाँकार युवराज राईलगायतका १७ जना कलाकर्मीहरू पार्टी माओवादी पार्टी प्रवेश गरेका हुन् । माओवादीको कार्यशैलीबाट प्रभावित भएर आफूहरू पार्टी प्रवेश गरेको चलचित्रकर्मीहरूको भनाई थियो ।

 

आफ्नो पार्टीमा प्रवेश गरेका चलचित्रकर्मीलाई स्वागत, बधाई तथा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले चलचित्रकर्मीको यो पार्टी प्रवेशले प्रतिक्रियावादीहरूका लागी ठूलो झट्का हुने बताए । कार्यक्रममा पार्टी प्रवेश गरेका चलचित्रकर्मी प्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले भने, 'तपाईंहरू आज हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ यो कार्यले देशमा मात्र नभएर बिदेशमा पनि खैलाबैला मच्चाउने छ । प्रतिक्रियावादीहरूका मुटु थर्किने छन् ।' नेपाली चलचित्रको बारेमा राखेको सकारात्मक सोचले गर्दा चलचित्रकर्मीहरू आफ्नो पार्टीमा प्रवेश गरेको अध्यक्ष प्रचण्डको भनाई छ ।

 

अहिले प्रतिक्रियावादीहरू आफ्नो बिरूद्वमा लागेको भन्दै अध्यक्ष प्रचण्डले फिल्मी भाषा प्रयोग गर्दै भने, 'जसरी चलचित्रमा नायक नायिका बिचको प्रेममा फाटो ल्याउन भिलेनहरू लागि परेका हुन्छन् त्यसैगरी हाम्रो पार्टीभित्र पनि फाटो ल्याउन भिलेनहरू लागि परेका छन् । तर क्लाईमेक्समा पुगेपछि नायक नायिकाको जित भएझैं हाम्रो हाम्रो जित पनि सुनिश्चित छ ।' हिरो भनेको नेपाली जनता भएकाले नेपाली जनताहरू अहिले क्लाईमेक्स द्वन्दमा रहेको अध्यक्ष प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले नेपाली जनताहरूलाई हिरोको संज्ञा समेत दिए । कार्यक्रममा नेपाली चलचित्रकर्मीले राखेका चलचित्रको ऐन कानुन निर्माण, बिदेशी चलचित्रको कर, नेपाली मौलिक चलचित्रलाई प्राथमिकता लगायतका सुझावलाई आफ्नो पार्टीले बिशेष ध्यान दिने समेत अध्यक्ष प्रचण्डले बताए ।

 


यसैगरी कार्यक्रममा बोल्दै कलाकार निर शाहले राजनितीमा मात्र नभएर चलचित्र उधोगमा पनि माओवादीको नेतृत्वको खाँचो रहेको बताए । त्यस्तै निर्देशक दिपक श्रेष्ठले बर्तमान राजनितिक अवस्था र नेपाली चलचित्रको अवस्था उस्ताउस्तै रहेको बताए । उनले भने, 'जसरी अहिले नेपाली चलचित्रको व्यापारमा होल्डओभर पुगेको छैन त्यसैगरी राजनितीमा पनि होल्डओभर पुगेको छैन ।' यसैगरी टेलिचलचित्रकर्मी संघका अध्यक्ष कृष्ण ढुंगानाले नेपाली चलचित्र क्षेत्र धरासायी हुनबाट जोगाउन चलचित्र बर्ष घोषणा गरिनु पर्ने बताए ।

 

नेपाली चलचित्रको बिकाशका लागी नेपालका तीन मुख्य स्थान टिकापुर, चितवन र पूर्वमा इनडोर स्टुडियोको आवश्यकता महसुस भएको बताउँदै निर्माता/निर्देशक युवराज लामाले भने, 'अहिले नेपाली चलचित्र उधोगमा जापानमा आएको जस्तै भुकम्प आएको छ । त्यसैले नेपाली चलचित्र उधोगलाई उद्वारको आवश्यकता छ ।' फिल्मी भाषा प्रयोग गर्दै लामाले नेपाली चलचित्र उधोगलाई राजनैतिक व्यक्तिहरूले लङ सटमा मात्र हेरेकोले अब क्लोज अपमा हेर्न आग्रह गरे । सरकारमा माओवादी पार्टी पनि रहेकोले अध्यक्ष प्रचण्ड प्रति लक्षित गर्दै लामाले भने, 'जसरी नरूने बच्चालाई आमाले पनि दुध खुवाउँदिनन् त्यसैगरी आज सारा चलचित्र उधोग सरकार समक्ष रोएको छ । त्यसैले बिग्रंदो नेपाली चलचित्र उधोगको बारेमा सरकारले एक पटक सोच्नु पर्ने बेला आएको छ ।'



राजनीतिक पार्टीहरुले कलाकारलाई विचारविहीन वर्गमा राखेकाले आफ्नो विचार अभिव्यक्तिका लागि पार्टीमा लागेको बताउँदै उपस्थित चलचित्रकर्मीले सरकारमा पुगेका कुनैपनि नेताले कलाकारलाई महत्व नदिएको गुनासो पोख्दै अब माओवादी सरकारले नेपाली चलचित्र उधोग र कलाकारलाई केहि गर्छ कि भन्ने आश जागेको धारणा राखे ।

 

यसअघि दीपक श्रेष्ठ, निर शाह, उदय सुब्बा, युवराज लामा, केपी पाठक, राजुध्वज राणा, छवि ओझा, निर्मल शर्मा, राजेन्द्र खड्गी, मौसमी मल्ल, सुलेमान शंकर, मौनता श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, योगेश घिमिरे, रामजी लामीछाने, भुवन श्रेष्ठलगायतका ९६ जना चलचित्रकर्मी सो पार्टीमा प्रवेश गरेका थिए ।