चलचित्र पत्रकार संघका नवनिर्वाचित पदाधिकारीहरूलाई निर्देशक समाजले बुधबार स्वागत तथा सम्मान गरेको छ । समाजको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजका उपाध्यक्ष बिमल पौडेल र सल्लाहकार बिश्व बस्नेतले अबिर तथा खादा ओढाएर नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा आफूहरूलाई स्वागत गरिएपछि पत्रकार संघका नवनिर्वाचित अध्यक्ष बिदूर गिरीले निर्देशक समाजलाई धन्यबाद दिंदै ब्रम्हनालमा फसेको नेपाली चलचित्रलाई उद्वार गर्न समाजसँग हातमा हात मिलाएर अगाडी बढ्ने प्रतिबद्वता जनाए । अध्यक्ष गिरीले समाजका पदाधिकारी प्रति लक्षित गर्दै भने, 'नेपाली चलचित्रको बिकासका लागी तपाईंहरूको साथ र सहयोगको खाँचो छ । आशा छ कि तपाईंहरूले हामीलाई सक्दो सहयोग गर्नुहुनेछ ।'
यसैगरी संघका निवर्तमान अध्यक्ष शान्ति प्रियले चलचित्र पत्रकार र निर्देशकहरूको हातेमालोले चलचित्रको बिकासमा सहयोग पुग्ने धारणा राखे । एक संस्थाले अर्को संस्थालाई सम्मान गर्नु भनेको दुई संस्था बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु रहेको प्रियको भनाई थियो । यस्तै संघका महासचिव लक्ष्मण सुवेदी र उपाध्यक्ष प्रदिप निरौलाले समाजको सम्मानले आफूहरूलाई जिम्मेवारी बोध गराएको बताए ।
यता समाजका उपाध्यक्ष बिमल पौडेलले पत्रकार र निर्देशक बिचको सम्बन्ध नङ र मासुको जस्तै रहेकोले नेपाली चलचित्रलाई एउटा बिन्दूमा पुर्याउन दुबैको साथ र सहयोगको आवश्यकता पर्ने बताए । यसैगरी सल्लाहकार तथा नायक बिश्व बस्नेतले नेपाली चलचित्रको सुधार र बिकासका लागी क्रिटिक्स अवार्डको आवश्यकता महसुस भएको बताए ।
जापानमा गएको सुनामीबाट ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती बाली शुरू गरिएको सो कार्यक्रममा समाजका अध्यक्ष केपी पाठकको सिघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको थियो । निर्देशक पाठक केहि दिन अघि मोटरसाईकल दुर्घटनामा परि घाईते भएका थिए ।