बिहानीले दिनको संकेत गर्छ भने जस्तै पोस्टप्रोडक्सनमा रहेको चलचित्र 'मिस यू' रिलिज पूर्व नै हिट भएको संकेत सामाजिक संजाल फेसबुकमा देख्न सकिन्छ । सुरेश दर्पण पोखरेलले निर्देशन गरेको चलचित्र 'मिस यू' को प्रतिक्षमा दर्शकहरू बसेको सो फेसबुकले देखाएको छ ।
निर्देशक पोखरेलले गत मार्च २८ तारिखका दिन चलचित्रका नायक दिलिप रायमाझी, बरूण राणा र नायिका नम्रता श्रेष्ठको साथमा आफू सहितको एक तस्विर राखेका थिए । मिस यू टिम भनेर राखिएको सो तस्विरमा यो समाचार तयार पारूञ्जेल सम्म ५२ जनाले लाईक गरेका छन् भने ३८ जनाले कमेन्ट गरेका छन् । जसमा केहिले 'मिस यू' को पर्खाइमा रहेको बताएका छन् भने केहिले 'मिस यू' भनि कमेन्ट गरेका छन् । यसैगरी केहीले निर्देशक त कलाकारलाई बधाई दिएका छन् ।
नायक दिलिप रायमाझीले निर्माण गरेको सो चलचित्र प्रदर्शन पूर्व नै हिट हुँदा चलचित्र युनिट निकै खुसी छ । नायक तथा निर्माता रायमाझी भन्छन्,'हामीले दर्शकलाई राम्रो चलचित्र दिने कोसिस गरेका छौं । आशा छ दर्शकहरूले हाम्रो सानो उपहार ग्रहण गर्न मिस गर्नुहुने छैन ।' यसैगरी निर्देशक पोखरेलले पनि राम्रो चलचित्र बनाउने प्रयत्न गरेको बताउँछन् । 'मिस यू' लाई आफ्नो ड्रिम प्रोजेक्ट चलचित्र मान्दै आएका निर्देशक पोखरेलले नायक बरूण राणा मात्र नभएर नायक दिलिप र नायिका नम्रताका लागि पनि यो चलचित्र ब्रेक जस्तै रहने प्रतिक्रिया दिए ।
मलेसियाका रमणिय स्थानमा छायाँकन गरिएको सो चलचित्र छिट्टै नै दर्शक माझ आउने निर्देशकको भनाई छ । करिब एक करोडको लागतमा निर्माण गरिएको सो चलचित्रको डबिङ केहि दिनमा शुरू गरिने भएको छ । जे होस् चलचित्र 'मिस यू' रिलिज अगाडी नै हिट भएकोमा सम्पूर्ण टिमलाई बधाई र साथमा 'मिस यू' लाई आश गरेर बसेका दर्शकलाई निराश नपार्नु होला भन्ने शुभकामना पनि !