थुपै म्युजिक भिडियोमा अभिनय गरिसकेका चर्चित मोडल तथा चलचित्र तुलसीका नायक बिमलेश अधिकारीले 'पोषाक' नामको बुटिक सञ्चालनमा ल्याएका छन् । बिमलेशसँगै अधिकांश म्युजिक भिडियोमा अभिनय गरेकी चर्चित मोडल तथा चलचित्र 'स्वर' डेब्यू नायिका केकी अधिकारीले सो बुटिकको उदघाटन गरिन् ।
आफ्ना सहकर्मी साथी अमरदीप तामाङको सहकार्यमा नेपाली चलचित्र र मोडलिङ क्षेत्रलाई लक्षित गरि काठमाण्डौको बागबजारमा सो बुटिक सञ्चालनमा ल्याएका हुन् । बुटिकको उदघाटन समारोहमा चलचित्र 'स्वर' का निर्देशक प्रशन्न पौडेल, नायिकाद्वय रीमा बिश्वकर्मा र बेनिशा हमाल, नायक निरज बराल, म्युजिक भिडियो निर्देशक अर्जुन अधिकारी लगायतको उपस्थिती थियो । बुटिकको उदघाटन समारोहमा उपस्थित सबैले बिमलेशको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।
करिब ८ लाखको लगानीमा सञ्चालन हुन लागेको सो बुटिकमा महिलाका लागी आकर्षक ड्रेस उपलब्ध हुने बिमलेशले जानकारी दिए । अहिले महिलाको मात्र ड्रेस उपलब्ध भए पनि केहि समयपछि पुरूषका ड्रेसहरू पनि उपलब्ध हुने उनको भनाई छ । बुटिकमा मनिला चौधरीले ड्रेस डिजाईन गर्नेछिन् । आफू कलरको सौखिन रहेकोले कपडा पनि कलरसँग केहि सम्बन्धित रहेकोले यस्तो व्यबसाय तर्फ आफ्नो झुकाव रहेको बताउँदै बिमलेश भन्छन्, 'नेपाली चलचित्र क्षेत्र र मोडलिङ क्षेत्रमा ड्रेसको आवश्यकतालाई मध्य नजर गरेर मैले बुटिक सञ्चालनमा ल्याउन लागेको हुँ ।' बुटिकमा आफूलाई मन पर्ने डिजाईनहरू अर्डर गरेर बनाउन सकिने बिमलेशले बताए ।
हेमन्त शर्माको 'थापन थाप हातैमा...' बोलको गीतबाट मोडलिङ यात्रा शुरू गरेका बिमलेशले अहिलेसम्म करिब ६० म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् भने उनले अभिनय गरेको चलचित्र 'तुलसी' निर्माणाधिन अवस्थामा छ भने उनले ऋचा घिमिरेको चलचित्र 'ब्रेक फेल' मा पनि अभिनय गर्दैछन् । सो चलचित्रको छायाँकन मंगलबारबाट गरिने बताईएको छ ।