गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुन लागेको चलचित्र 'मायाको बारीमा' मा नायिका केकी अधिकारीको साथमा हरिवंश आचार्यका छोरा मोहित आचार्यले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । गोपीकृष्ण मुभिजले मोहितलाई यसै चलचित्र मार्फत डेब्यू गराउँदै छ ।
दयाराम दाहालले निर्देशन गर्न लागेको सो चलचित्रमा केकी र मोहितको साथमा महानायक राजेश हमाल र अभिनेत्री करिष्मा मानन्धर पनि बिशेष भुमिकामा प्रस्तुत हुँदैछन् । शिबम् अधिकारीको कथा रहेको सो चलचित्र पूर्ण रूपमा प्रेम कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र कविराज गहतराजको नृत्यनिर्देशन रहने भएको छ । बैशाखको दोस्रो साताबाट छायाँकन गरिने सो चलचित्रको प्राय सबै दृश्य काठमाण्डौ मै खिचिने भएको छ ।
गोपीकृष्णले निर्माण गरेको पछिल्लो चलचित्र 'प्रितीको फूल' प्रदर्शनको चैत्र २५ गते सार्वजनिक हुँदैछ । यस अघि गोपीकृष्णले पर्खि बसें, सुन्दर मेरो नाम, फ्ल्यास ब्याक, जिवनमृत्यु, कुसुमे रूमाल-२, खुसी लगायतका चलचित्र निर्माण गरेको थियो । देशकै ठूलो व्यानर मानिने गोपीकृष्णले निर्माण गरेका चलचित्र मध्ये पहिलो चलचित्र पर्खि बसें बाहेक कुनै चलचित्र हिट हुन सकेको छैन । जसमध्ये खुसी अहिले सम्मकै असफल चलचित्र हो । आशा गरौं अब निर्माण हुने चलचित्रहरू राम्रा बन्नेछन् र दर्शकको मन जित्नेछन् ।