नेपालमा चेलिबेटी बेचबिखन कार्य अझै पनि कायमै रहेको छ । सो कार्यलाई रोक्न माईती नेपालले ठूलो भुमिका निर्वाह गर्दै आएको छ । चेलिबेटी बेचबिखन कार्यलाई रोक्न बिशेष योगदान दिए वापत माईती नेपालकी अध्यक्ष अनुराधा कोइराला सिएनएन हिरो समेत बनिन् ।
भर्खरै मात्र सीएनएन हिरोका रुपमा चिनिएकी माईती नेपालकी अध्यक्ष कोइरालाको निम्तोमा हलिउड अभिनेत्री डेमी मोर चेलीवेटी बेचविखन विरुद्धको अभियानका लागि नेपाल आएकी छिन् । अभिनेत्री डेमीको सो अभियानमा नेपाली कलाकारको तर्फबाट चर्चित पार्श्वगायक राजेशपायल राईको साथमा नेपाली खेलाडीले पनि साथ दिने भएका छन् । उनीहरू देशविदेशमा हुने उक्त अभियान कार्यक्रममा संलग्न हुने बताईएको छ ।
अभिनेत्री डेमी कार्य व्यस्तताले गर्दा बिहिबार नै अमेरिका प्रस्थान गर्दैछिन् । हाल नेपाल भ्रमणमा मात्र आएकी अभिनेत्री डेमीले लुम्बिनी, बुटवलको सीमा क्षेत्र पुगिसकेकी छिन् भने माइती नेपालको अवलोकन समेत गर्न भ्याईन् । नेपालमा आएर यस्तो सामाजिक कार्यमा संलग्न हुन पाउँदा अभिनेत्री डेमी निकै खुसी छिन् । त्यसैले सो अभियानका लागि उनी फेरी नेपाल आउने बताईएको छ ।