नेपालमा जन्मेर भारतिय चलचित्र उधोगमा संघर्षरत व्यक्ति मध्येका एक हुन् मनोज त्रिपाठी । पर्यटकिय नगरी पोखरामा जन्मेका त्रिपाठी अहिले बलिउडमा लेखक र सहायक निर्देशकको रूपमा परिचित छन् । तर उनको लक्ष्य एक सफल निर्देशक तथा लेखक बन्नु छ ।
आईटी पढ्न सन् २००३ सालमा बलिउड छिरेका मनोजले शुरूमा एक रेडियोमा कार्यक्रम निर्माताको रूपमा काम गरे । त्यसपछि उनले केही चलचित्र र टेलिचलचित्रमा सहायक निर्देशक भई काम गर्ने मौका पाए । बलिउडमा प्रतिभा भएका व्यक्तिहरूको कमि छैन् र पनि मनोज त्यो भिडमा अहिले संघर्ष गरिरहेका छन् । आफूले पहिलो पटक सहायक निर्देशक भई काम गरेको टेलिचलचित्र 'हिरो' भएको मनोज बताउँछन् । जुन टेलिचलचित्र हंगामा टेलिभिजनमा प्रशारण भएको उनको भनाई छ ।
हिरो पछि उनले साथी रे, डन जस्ता टेलिचलचित्रमा सहायक निर्देशक भई काम गर्ने अवसर पाए । आफूले पाएको अवसरको सदुपयोग गर्दै राम्रो काम गरेपछि उनले कलर्स टेलिभिजनमा प्रशारणरत लगी तुजसे लगन नामक टेलिचलचित्रमा पटकथा लेख्ने अर्को सुनौलो अवसर पाए । उनले दसका दम र सचका सामन जस्तो सफल रियालिटी शोमा क्रियटिभ डाईरेक्टरको जिम्मेवारी पनि सम्हाले । अहिले उनी दुई शोका लागी पटकथा लेख्दै छन् जुन कलर्स टिभी र इमाजिन टिभीबाट प्रशारण हुँदैछ । भाग्य, परिश्रम र इमान्दारिताले गर्दा काम गर्ने अवसर पाएको बताउने मनोजलाई अहिले थुप्रै कामको अफर पनि आएका छन् रे । तर उनी संख्यात्मक भन्दा पनि गुणात्मक काम गरेर देखाउन चाहन्छन् ।
ठूलो व्यानरको चलचित्रमा काम गर्ने अवसर अझै नपाएका मनोजको उद्देश्य चन्द्रमा छुनु नै छ । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भने जस्तै उनी बलिउडका सफल निर्देशक र लेखकहरूको भिडमा नेपालीको प्रतिनिधित्व गर्दै एक सफल चलचित्रकर्मी बन्न चाहन्छन् । तर चन्द्रमा छुन उनलाई त्यति सहज छैन । अझै आफूले धेरै संघर्ष गर्न बाँकी रहेको मनोजको भनाई छ ।
सानोमा नेपाली चलचित्र हेर्ने गरेको बताउने मनोजले नेपाल आएर नेपाली चलचित्र पनि निर्माण गर्ने योजना बनाएको बताए । स्थानिय भाषालाई फोकस नगर्दा, गुणात्मक भन्दा संख्यात्मक चलचित्र निर्माणलाई बढि प्राथमिकता दिंदा र उपयुक्त कथा छनोट नगर्दा नेपाली चलचित्रको बिकाश माथि उठ्न नसकेको मनोजको ठम्याई छ । त्यसैले उनी यि कुराहरूलाई ध्यानमा राखेर राम्रो नेपाली चलचित्र निर्देशन गर्ने योजनामा छन् । तर उनले आफ्नो सो योजना पूरा गर्न अझ केहि बर्ष लाग्ने बताए ।
दर्शकको दिमाग चल्न थालेपछि चलचित्र निर्देशकहरू असफल हुने हुनाले दर्शकको दिमागलाई चल्न नदिई निर्देशकले आफ्नो दिमाग चलाएमा चलचित्र राम्रो बन्ने र दर्शकलाई सो चलचित्रले बाँध्न सक्ने मनोजको बुझाई छ । दर्शकलाई बाँध्न सक्ने चलचित्र निर्देशक अहिलेका युवा पुस्ता नै भएको उनको दाबी छ । उनी भन्छन्, 'अहिले आएका युवाहरूले राम्रो चलचित्र निर्माण गर्न सक्छन् । किनकी उनीहरूले अहिलेको दर्शकको मनोभावनालाई बुझ्न सक्छन् ।'
नयाँबर्ष मनाउन नेपाल आएका त्रिपाठी अहिले गृहनगर पोखरामा छन् । फिल्मीखबर डटकम मनोजलाई नयाँ बर्षको शुभकामना सहित सफल चलचित्रकर्मी बन्न सकुन् भन्ने शुभकामना पनि ।