
केहि समय अगाडि चलचित्र व्याच नं १६ रिलिज अगाडि काठमाण्डौका भित्ताहरु पोष्टरहरुले रंगिएका थिए भने यति बेला चलचित्र प्रहारका पोष्टरहरुले भित्ताहरु रंगिएका छन् । प्रहारका निर्माता टंक लम्सालले अरू चलचित्रको पोस्टर टाँस्ने ठाँउ समेत नराखी शहरका चोक चोक गल्ली गल्लीका भित्ताहरूमा आफ्नै चलचित्रको पोस्टर टाँसेको देखिन्छ ।
कोटेश्वर, बानेश्वर, पुतलिसडक, प्रदर्शनीमार्ग लगायतका स्थानहरूमा प्रहार नै प्रहार मात्र छ । पोष्टर पनि यसरी टाँसिएको छ कि लाग्छ त्यो प्रचार प्रसारको लागि होइन कि भित्ताहरुमा भएका प्वालहरु छोप्नको लागि हो । तर दुर्भाग्य ति पोस्टरहरू भित्तामा मात्र सिमित भएको छ । गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको सो चलचित्रले हल नै पाएको छैन । प्रहारले राजधानीमा साना र ठूला गरी जमा चारवटा हल पाएको छ भने राजधानी बाहिर पनि बन्दले गर्दा २३ वटा मात्र हलमा चित्त बुझाउनु परेको छ ।
हुन त धेरै पोष्टर टाँस्दैमा चलचित्र राम्रो होला भन्न त मिल्दैन र धेरै पोष्टर टाँस्दैमा चलचित्रले राम्रो व्यापार गर्छ भनि सोच्नु पनि मुर्खता हो । किनभने यसको ज्वलन्त उदाहरण पछिल्लो समय प्रर्दशनमा आएको चलचित्र व्याच नं १६ लाई लिन सकिन्छ । यसरी अत्याधिक रुपले पोष्टर टाँस्दा यो प्रदुषित शहर अझ बढि प्रदुषित हुने पक्का छ । चलचित्र हिट हुन चलचित्रका हरेक कुरा राम्रो हुनु आवश्यक छ किनकि सबभन्दा राम्रो प्रचार प्रसार भनेको मौखिक प्रचार प्रसार हो ।
सबै चलचित्रले राम्रो व्यापार गरुन् र सबैले गरेको लगानी उकासुन् फिल्मीखबर डटकम यहि शुभेच्छा प्रकट गर्दछ तर जे काम गर्दा पनि सिमित मात्र गरौं । ३ वटा पोष्टर टाँस्दा हुने ठाँउमा ३० वटा पोष्टर टाँस्नुको केहि अर्थ छ ? भनिन्छ चिनि पनि धेरै खायो भने तितो हुन्छ रे ! बिचार गरौं है ।