मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली चलचित्र उधोगका लागी ०६७ कालो बर्ष

सुमन गैरे, काठमाण्डौ, 2011/04/13

नेपाली चलचित्रको इतिहासमा बिसं २०६७ सालले प्रदर्शनको रेकर्ड राखे पनि व्यापारिक दृष्टिकोणले उधोगका लागी ०६७ सुखद रहन सकेन । अझ यसो भनौं, चलचित्र निर्माताहरूका लगि ०६७ साल कालो बर्षको रूपमा रह्यो । राजधानी भित्र र बाहिर प्रदर्शनमा आएका करिब ७५ चलचित्र मध्ये आधा दर्जन चलचित्रले पनि सफलता पाउन नसकेपछि नेपाली चलचित्र उधोगका लागि यो बर्षलाई कालो बर्षको रूपमा घोषणा गर्दा फरक नपर्न सक्छ ।



बर्षकै शुरूवातमा माओवादीको बन्द र हडतालका कारण चलचित्रको व्यापार मारमा पर्न गयो । भनिन्छ दिनको शुरूवात बिहानीले गर्छ भनेर । तर नेपाली चलचित्रका लागी बिहानीको शुरूवात नै नराम्रो भएपछि दिन पनि राम्रो हुन सकेन । ०६७ को शुरूवातमा चलचित्र 'कसम हजुरको' प्रदर्शनमा आएको थियो तर शुरूवातकै सो चलचित्रले राम्रो व्यापार गर्न सकेन । त्यसपछि साउन महिनाको अन्त्यसम्ममा प्रदर्शनमा आएका चलचित्रहरूले कुनै छ्लाङ मार्न सकेनन् ।

 



साउन महिनाको अन्त्यमा प्रदर्शनमा आएको चलचित्र 'फस्ट लभ' ले भने नसोचेको सफलता पायो । त्यसपछि प्रदर्शनमा आएको चलचित्र 'नाइ नभन्नु ल' ले पनि सन्तोषजनक व्यापार गर्‍यो । तर व्यापारको हिसाबले भन्दा पनि गीतसंगीतको हिसाबले 'नाइ नभन्नु ल' ले राम्रो चर्चा पायो । त्यसपछि निकै तामझामका साथ ठूलो आश बोकेर आएको चलचित्र 'कोहि मेरो' ले भने नसोचेको असफलताको स्वाद चाख्यो । सो चलचित्रको असफलतासँगै निर्देशक आलोक नेम्वाङले ०६७ सालमा कुनै चलचित्र निर्देशन गर्ने आँट पनि गर्न सकेनन् ।

 



कोहि मेरो पछि प्रदर्शनमा आएका अधिकांश चलचित्रले पनि सोचेको सफलता पाउन सकेकन् । व्यापारको हिसाबले दशैं ताका प्रदर्शनमा आएको रेखा थापाको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' ले भने राम्रै सफलता पायो । चलचित्रको सफलतासँगै सोही चलचित्रबाट डेब्यू गरेका निर्देशक शबिर श्रेष्ठ र क्यामेराम्यान संजय लामाको चर्चा एकाएक चुलियो । 'कस्ले चोर्‍यो मेरो मन' प्रदर्शनमा आएको केहि समयमै इन्डियन आईडल प्रशान्त तामाङले अभिनय गरेको चलचित्र 'गोर्खा पल्टन' ले बर्षकै सबैभन्दा बढि व्यापार गर्न सक्यो । व्यापारिक हिसाबले चलचित्र सबैभन्दा अगाडी रहेपनि प्राबिधिक हिसाबले सो चलचित्रले खासै चर्चा पाउन सकेन । त्यसपछि प्रदर्शनमा आएका कुनै पनि चलचित्रले छलाङ मार्न सकेनन् । जसले गर्दा ०६७ सालमा तीन चलचित्र 'फस्ट लभ', 'कस्ले चोर्‍यो मेरो मन' र  'गोर्खा पल्टन' मात्र व्यापारीक हिसाबले दरिलो चलचित्र घोषित भए ।

 


व्यापारका हिसाबले प्रशंसा पाउन नसके पनि चलचित्र 'फस्ट लभ', 'कस्ले चोर्‍यो मेरो मन', 'बाटो मुनिको फूल', 'दाशढुंगा', 'व्याच नं १६', ‘कोही मेरो', ‘स्वर' जस्ता केहि चलचित्रले भने मेकिङका हिसाबले प्रशंसा पाए । यसअघि मिसन पैसा जस्तो असफल चलचित्र निर्देशन गरेका सिमोस सुनुवारले यस बर्ष भने 'फस्ट लभ' बाट राम्रै चर्चा पाए । त्यसैगरी सोही चलचित्रबाट डेब्यू गरेकी नायिका ऋचा शर्मा पनि आश लाग्दो कलाकारको रूपमा चिनिईन् । यसैगरी चलचित्र 'नाइ नभन्नु ल' बाट पार्श्व गायनमा पाईला टेकेकी गायिका रजिना रिमालको चर्चा पनि एकाएक चुलियो । उनी अहिलेकी व्यस्त गायिका समेत बनेकी छिन् । यता 'कोही मेरो' चलचित्र असफल भएपनि त्यसका नवनायक सुवास थापाको कामको सबैले प्रशंसा गरे ।

 


यसैगरी लेखनमा राम्रै पकड जमाएका सुरज सुब्बा 'नाल्बो' ले बाटो मुनिको फूलबाट जति प्रशंसा पाए त्यति नै सोही चलचित्रबाट डेब्यू गरेका गायकद्वय यश कुमार र बाबु बोगटीले पनि प्रशंसा पाए र उनीहरू पनि एक आशलाग्दो कालाकारको रूपमा रजतपटमा प्रवेश गरे । सोही चलचित्रमा स्वर दिएकी दार्जिलिङे सानी गायिका प्रकृती गिरीको पनि चर्चा राम्रै रह्यो । चलचित्र 'स्वर' व्यापारको हिसाबले असफल रहे पनि सो चलचित्रमा अभिनय गरेका कलाकारहरूले राम्रै काम गरेर देखाए । सो चलचित्रबाट डेब्यू गरेकी नायिका केकी अधिकारी पनि रजतपटमा एक आशलाग्दो नायिकाको रूपमा चिनिन पुगेकी छिन् । यता मच्चिएर थच्चिएको चलचित्र 'व्याच नं १६' बाट कलाकार अर्पण थापाले राम्रो काम गरेर देखाए । उनी पनि एक आशलाग्दो कलाकार बनेर रजतपतमा पाईला टेकेका छन् ।



०६७ सालमा निकै आश गरिएको मह जोडी अभिनित चलचित्र 'हाँसी देउ एक फेर' ले नत दर्शकलाई हँसाउन सक्यो नत निर्मातालाई नै । चलचित्रले हँसाउनुको सट्टा सबैलाई रूवायो । यो चलचित्र बर्षकै सबैभन्दा असफल चलचित्र घोषित भयो । 'हाँसी देउ एक फेर' सँगै गोपीकृष्ण मुभिजको चलचित्र 'खुसी' पनि बर्षकै सुपरफ्लप चलचित्र साबित भयो । यता नयाँ प्रयोगका साथ आएको भनिएको चलचित्र 'एक दिन एक रात' पनि एक दिन एक रातमै सिमित भयो । बिगतमा निकै सफल चलचित्र पस्कंदै आएका निर्देशक तुलसी घिमिरेको चलचित्र 'देश' ले पनि पानी माग्न सकेन ।उनी माथी दर्शकले जति आश गरेका थिए त्यसको १० % खुसी पनि तुलसीले दिन सकेकन् र चलचित्र अत्यधिक असफल भयो ।

 



बिगतका बर्षमा राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीलाई हिरो बनाएपछि निर्माता सुरक्षित हुने बिश्वास गरिन्थ्यो तर यस बर्ष भने यिनै कलाकारले अभिनय गरेका चलचित्र बढि असफल भए । जसले गर्दा गएका बर्षमा सुपरस्टार बनेका ति तीन हिरो यस बर्ष फ्लप हिरो साबित भए ।  यि हिरोका एक्सन फिल्म नचलेर आर्यन सिक्देलका लभ स्टोरी चलचित्रलाई दर्शकले मन पराए । जसले गर्दा आर्यन सिक्देल यस बर्ष नम्बर एक स्थानमा पर्न सफल भए । कसम हजुरको, हाँसी देउ एक फेर, स्वर, तिमी मात्र तिमी जस्ता चलचित्रबाट असफलताको स्वाद चाखेपछि नायक राजबल्लभ कोईराला पनि यस बर्ष असफल नायकको दर्जा पाए ।  नायक सुमन सिंहको लागि पनि यो बर्ष कुनै लाभदायक बर्ष रहन सकेन ।



गएका बर्षमा निकै चर्चामा आउने नायिका झरना थापा, अरुणिमा लम्साल र निरूता सिंहको पनि तीन नायकको जस्तै हाल भयो । यि नायिकाले पनि यस बर्ष कुनै चमत्कार देखाउन सकेकन् । यता बलिउडमा राम्रै चर्चा पाएकी अभिनेत्री मनिषा कोईराला नेपालमा आएर अभिनय गरेको पनि खेर नै गयो । बलिउडमा राम्रै अभिनय गरेकी मनिषाले नेपालमा आएर अभिनय गरेको चलचित्र 'धर्मा' बाट जादु देखाउन सकिनन् । निर्देशक शोभित बस्नेतले रेजिना उप्रेतीलाई चलचित्र 'चिनो' मा शिर्ष भुमिकामा उतारे पनि रेजिनाले कुनै चमत्कार देखाउन सकिनन् । जसले गर्दा रेजिनालाई ‘बोल्ड' हिरोइन बनाउने शोभितको सपना सपनामै सिमित रहन पुग्यो । बरू यस बर्ष नायिका रेखा थापा र निशा अधिकारी चले ।नन्दिता केसी, गरिमा पन्त, युना उप्रेती लगायतका नायिकाको चर्चा भने सामान्य नै रह्यो ।

 


चलचित्र निर्माणले निरन्तरता, तीव्रता पाउनु र प्रदर्शन हुनु मात्रले कुनै पनि देशको चलचित्र क्षेत्र फस्टाइरहेको मान्न सकिन्न। यो वर्ष नेपाली चलचित्र उद्योगमा नयाँ निर्माता धेरै आए र धेरै नफर्किने बताउँदै बाहिरिए। यसको असर फिल्म निर्माणमा देखिन थालेको छ। ०६७ सालमा ७५ चलचित्र रिलिज भएपनि यस बर्ष भने थोरै चलचित्र रिलिज हुने संम्भावना देखिएको छ । कारण ०६७ को अवस्था देखेर निर्माताहरूको सात्तो गएको छ । ०६८ मा हललाई चलचित्रको समस्या पर्ने निश्चित देखिएको हलवालाहरू बताउँछन् ।



०६७ मा नयाँ स्वाद दिने कोसिस धेरैले गरे तर कोशिस गर्दा गर्दै उनीहरू नराम्रोसँग चिप्लिन पुगे । आशा गरौं ०६७ साल चलचित्र उधोगका लागी दुखद रहेपनि ०६८ साल भने चलचित्र उधोगका लागि स्वर्णिम बर्षको रूपमा चिनिने छ ।