माया प्रितीका चलचित्र मात्र बनिरहेको नेपाली चलचित्र उधोगमा नेपाली किसानलाई समेटेर बनाइएको चलचित्र किसानको प्राबिधिक कार्य अन्तिम चरणमा पुगेको छ । चलचित्रको अहिले चलचित्र बिकाश कम्पनी बालाजुमा डबिङ कार्य भईरहेको छ ।
कृषकको कथामा आधारित र सामूहिक कृषि प्रणालीबाट खेतिपाती गर्दा सबैलाई फाइदा हुने बिषयबस्तुलाई चलचित्रमा मुख्य कथाबस्तु बनाईएको सो चलचित्रमा निरंकुश मुखियासंग किसानको संघर्षको कथालाई पनि समेटिएको निर्देशक बिमल पौडेलको भनाई छ । कालिगण्डकी सिने म्याक्स प्रालिको ब्यानरमा बसन्त कुमार श्रेष्ठको प्रस्तुती रहेको उक्त चलचित्रमा राजेश हमाल, गणेश उप्रेती, नीर शाह, राजेश ढुंगाना, मौसमी मल्ल, नन्दिता केसी, नीता ढुङ्गाना, राहुल केसी, बिमल पौडेल लगायतको अभिनय रहेको छ ।
जेठ महिना भित्रै प्रदर्शन गर्ने तयारीमा रहेको उक्त चलचित्रमा राजु केसीको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, चेतन सापकोटाको संगीत रहेको छ । चलचित्रको सम्पूर्ण छायांकन चितवनको मंगलपूर भन्ने ठाउँमा गरिएको निर्माण पक्षको भनाई छ । प्रेम र एक्सन समाबेश भएका चलचित्र मात्र आइरहेको समयमा कृषि कथालाई चलचित्रमा समाबेश गरि संदेश दिने प्रयासमा लागेको चलचित्र किसानलाई दर्शकले कुन रुपमा मन पराउने हुन् त्यो त चलचित्र सार्वजनिक भए पछि थाहा हुने नै छ । चलचित्र किसान किसानको मात्र नभएर सम्पूर्ण नेपालीको चलचित्र बन्न सकोस् फिल्मीखबर डटकमको शुभकामना !