मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

०६७ का महत्वपूर्ण घटनाहरू

शान्ति प्रिय, काठमाण्डौ, 2011/04/15

यतिबेला हामी नयाँ उल्लासका साथ नयाँ वर्ष २०६८ मनाउँदैछौं। तर ०६७ लाई फर्केर हेर्दा त्यो बर्ष नेपाली चलचित्र क्षेत्रमा थुप्रै राम्रा तथा नराम्रा घटनाहरू घटे । हामीले ति घटनाहरूलाई संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

 

चलचित्र क्षेत्रका अमूल्य स्रष्टाको निधन
यसबर्ष चलचित्र उद्योगले लगातार रुपमा विभिन्न स्रष्टाहरुलाई गुमाउनु परेको छ । द्वन्द्व एवं कला निर्देशक गोपाल भुटानी, वरिष्ठ अभिनेत्री शान्ति मास्के, बसन्ती चलचित्रका लेखक एवं साहित्यकार डायमण्ड शमसेर राणा, चलचित्र निर्देशक राजुध्वज राणा, निर्माण नियन्त्रकद्वय राजु क्षेत्री र यम तिवारी, चलचित्रहरुका पाश्र्व गायक कुमार कान्छा लगायतका व्यक्तिहरुको निधन यसबर्ष भयो।

 

पार्टी प्रवेशपार्टी प्रवेश

यसबर्ष चलचित्र उद्योगमा उल्लेखनीय गतिविधि भएन । गत बर्ष जस्तै नेकपा माओवादी पार्टीमा प्रवेश गर्ने कलाकारहरु यसबर्ष पनि देखिए । दयाराम दाहाल, प्रमोद भण्डारी, श्याम भट्टराई, जेनी कुवँर लगायत केही व्यक्तिहरु माओवादीमा प्रवेश गरे भने सदाबहादर नायकको रुपमा परिचित भुवन केसी यस बर्ष एमाले प्रवेश गरेको चर्चालाई भने राम्रै रुपमा हेरियो । तर उनको प्रवेशलाई लिएर जे जति चर्चा हुने अनुमान गरिए पनि चतुर भुवन केसी आफ्नो चलचित्र चलाउनका लागि एमालेमा प्रवेश गरेको धेरैले ठम्याए।


मुद्दा
यसबर्ष पनि चलचित्र प्रदर्शनको अस्तव्यस्ततालाई लिएर चलचित्र उद्योग गर्माइरह्यो । पालो प्रणाली अनुसार चलचित्र प्रदर्शन गर्ने परम्परालाई तोड्नका लागि मन परेपछिका निर्माता एवं संगीतकार दीपक रमणले मुद्दा समेत हाले । मुद्दाको फैसला उनकै पक्षमा भए पनि चलचित्रकर्मीहरुको मिलेमतोका कारण उनले सोचेजस्तो अवस्था भने चलचित्र उद्योगमा देखिएन ।


धर्म प्रवेश
ग्ल्यामरस छवि बनाएर चलचित्रहरुमा अभिनय गरिरहेकी पूजा लामाको एकाएक मुस्लीम धर्म प्रवेशले चर्चा पायो । ग्ल्यामरस छविका कारण कट्टर धर्म मानिने मुस्लीम धर्ममा उनको प्रवेश वास्तवमै कौतुहलमय थियो । उक्त धर्ममा प्रवेश गर्दै उनले आफ्नो नाम समेत परिवर्तन गरेर आम्ना फारुकी बनाएकी थिइन् । तर ग्ल्यामरस छविकी पूजाले आफूलाई सो धर्ममा टिकाउन सकेको पाइएन । बुर्कामा देखिनुपर्ने अनुहार झन् छोटो कपडामा उनी देखिएकी छन् भने राती राती डिस्को जाने र मदिरामा लठ्ठ हुने गरेको पनि समाचारहरुले ईंगित गरिरहेका छन् ।


डिजिटलको लर्को

यसबर्ष चलचित्र उद्योगमा डिजिटल चलचित्रहरुको बाढी नै रह्यो । खासगरी पछिल्लो समयमा डिजिटल सिनेमा नेपाल डीसीएनको सक्रियताका कारण डिजिटल फम्र्याटको निकै नै चर्चा रह्यो । स्वर, बाटो मुनीको फूल, कोही मेरो, फष्ट लभ, भूल भए माफ गर, कसले चोर्‍यो मेरो मन, कन्यादान, गुरुदक्षिणा, गोर्खा पल्टन, धर्मा, एक दिन एक रात, चिनो, दिलमाया, मनमनै मन पराएँ, कसम, ब्याच नम्बर १६, हलचल लगायतका चलचित्रहरु डिजिटल फम्र्याटमै बने र डिजिटल फम्र्याटमै रिलिज भए । जति अन्य प्रविधिका माध्यमले चलचित्र बनेपनि रिलिजको बाटो भने डिजिटल नै भयो । यस हिसाबले हेर्दा यो बर्ष डिजिटलमय रह्यो । प्रविधिका हिसाबले उच्च रुपमा डिजिटलको प्रयोग हुनु पक्कै पनि सकारात्मक प्रयास भने हो ।

 

जेल चलान
निर्माता तथा नायक रोज राणा मानब बेचबिखन बिरूद्वको अभियोगमा परि करिब ६ महिना जेल बसे । पछि सर्वोच्च अदालतले उनलाई निर्दोश साबित गरेपछि उनी पुन: नेपाली चलचित्र निर्माणमा लागि परेका छन् ।
 


पाइरेसी काण्ड
यसबर्ष पाइरेसीका कारण चलचित्र उद्योगमा निकै गर्मागर्मी चल्यो । रिलिज भएकै अवस्थामा बाटो मुनीको फूल नामक चलचित्रको भिडियो सीडी बजारमा छ्याप्छ्याप्ती पाइए पछि यो विषयले निकै चर्चा पायो । यसका निर्माता यशकुमारले डीसीएनविरुद्ध आक्रोश व्यक्त गरे भने अहिलेको अवस्थामा हेर्दा यो प्रसंग यसै विलाएर गयो । साथसाथै कसम हजुरको नामक चलचित्रको पनि पाइरेसी भएको निर्माताले बताए ।


क-कसले विहे गरे ?

यो बर्षमा विहेको कुरा गर्नुपर्दा मनिषा कोइरालाको विहेको चर्चा निकै नै रह्यो । नेपाली चलचित्र फेरी भेटौंलाबाट डेब्यू गरेकी मनिषा कोइरालाले बलिउड चलचित्र उद्योगमा लामो समयसम्म सफल अभिनेत्रीको रुपमा साम्राज्य जमाइन् । नेपाली बाला मनिषा कोइरालाले यस बर्ष उद्योगपति सम्राट दाहालसँग विहे गरेपछि निकै चर्चामा रहिन् । नेपालका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको सो विहे समारोहमा बलिउड चलचित्र उद्योगका हस्तीहरुको सहभागिताले पनि उनको विहेलाई अझै चर्चायोग्य बनायो । त्यस्तै यसबर्ष नृत्य निर्देशक दिनेश अधिकारीले पनि विहे गरे । झापाकी पुष्पा निरौलासँग उनले विहे गरेका हुन्  । त्यस्तै चलचित्र पत्रकारितासँग संलग्न अशोकप्यासी राईले पनि गायिका चन्दा घिसिङसँग विहे गरे । भर्खरै निर्माताका रुपमा उदाएका जेबी घिसिङले पनि नायिका लता योञ्जनसँग विहे गरे ।


अवैध विहे 
अभिनेता निखिल उप्रेती र सञ्चिता लुइँटेलबीचको सम्बन्धले पनि यो बर्ष निकै चर्चा पायो । आकाश शाहसँग विवाहित सञ्चिता लुइँटेल र कोपिला शर्मासँग विवाहित निखिल उप्रेतीले एकअर्कासँग विहे गरेको भन्दै मुम्बईतिर गएर बसेपछि यो विषयले बर्षभरी नै चर्चा पायो । भलै यो कुरालाई निखिल उप्रेतीले अहिलेसम्म मुख खोलेका छैनन् भने सञ्चिता लुइँटेलले भने आफूले निखिलसँग विहे गरिसकेको बारम्बार बताउँदै आएकी छिन् । सञ्चिता लुइँटेलको गर्भमा बच्चा समेत रहेको समाचारहरुले इंगित गरिरहेका छन् ।



कमब्याक अनुहार

फेरी भेटौंला चलचित्रबाट डेब्यू गर्दै अभिनय यात्रा प्रारम्भ गरेकी मनिषा कोइरालाले लामो समयसम्म बलिउडमै समय व्यतित गरिन् । नेपाली बाला मनिषाले करिब २० बर्षको अन्तरपछि पुनः नेपाली चलचित्र धर्मा मार्फत आफूलाई नेपाली चलचित्र उद्योगमा कमब्याक गराइन् । उनको अभिनयको चर्चाले चलचित्र उद्योगलाई नै राम्ररी तताए पनि चलचित्रले सामान्य व्यापार गरेका कारण उनको चर्चा त्यत्तिकै सेलायो । बरु उनले गरेको विहे र त्यसपछि बिग्रन लागेको सम्बन्धमा उनलाई मिडियाहरुले पछ्याइरहे ।


त्यस्तै यसबर्ष अभिनेता सरोज खनाल पनि कमब्याक भए । करिब १४ बर्ष अमेरिका तिर हानिएर उतै समय व्यतित गरिरहेका सरोज खनालले मानव नामक चलचित्रमा आफ्नो अनुहार पुनः प्रवेश गराए । छायाँकन भएर ल्याबको काम भइरहेको यो चलचित्र मार्फत् सरोज खनाल फेरी नेपाली चलचित्रमा अभिनय यात्रालाई निरन्तरता दिने क्रममा लागि पर्न लागेको आभाष पाइन्छ । अघिल्लो बर्ष आफ्नो अश्लील भिडियो आएपछि निराश भएर थन्किएकी अभिनेत्री नम्रता श्रेष्ठ पनि यो बर्षबाट कमब्याक भइन् । सुरेशदर्पण पोखरेल निर्देशित चलचित्र मिस यू मार्फत उनी आउन लागेकी छन् । उनको भिडियो काण्डका कारण दर्शकहरुले उनलाई त्यति महत्व नदिने पो हुन्की भन्ने आशंक गरिएपनि त्यस विपरीत उनको चलचित्र मिस यूलाई लिएर अहिले देखि नै दर्शकहरुले प्रतिक्षा गर्न थालेको आभाष विभिन्न सर्वेक्षणले देखाउन थालिसकेको छ ।


पारपाचुके
यस बर्षका अर्का जोडी अन्जु पन्त र मनोज राजको विषय पनि पछिल्लो चरणमा आएर चर्चाको केन्द्र विन्दुमा छ । विभिन्न समयमा अन्जु र मनोजको प्रेम विवाह खड्किन थालेको आभास नपाइएको होइन । झगडा गर्ने कुट्ने पिट्ने सम्मका उनीहरुका प्रसङ्ग बजारमा आएकै हुन् । त्यहीँमाथि पछिल्लो चरणमा आएर आफूहरु सँगै नबस्ने भन्दै समाचार प्रभावित गर्नु र अन्जु पन्तले मनोज राजका विरुद्ध अदालतमा अंश मुद्दा दायर गर्नुले पनि उनीहरुको सम्बन्धका बारेमा आएको हल्ला सत्य सावित गरिदिएको छ । सुमधुर स्वरका कारण आफ्नो उच्च छवि बनाउन सफल अन्जु पन्त र राम्रो स्वर भएर पनि अलि  पछाडि परेका मनोज राजबीचको सम्बन्ध अब भने नराम्ररी पर्दाफास भएको छ ।


सदाबहार नायकको रुपमा आफ्नो छवि बनाएका भुवन केसीले आफ्नो कान्छी पत्नी सुस्मिता केसीलाई पारपाचुके गरेको समाचार सुनाउँदै हिंडे । विजया केसीसँग प्रथम विवाह गरे पनि त्यसपछि उनीसँग छुट्टिएर सुस्मिता केसीसँग दोस्रो विवाह गरी सँगै बस्दै आएका भुवन र सुस्मिताका बारेमा यस अगाडि पनि धेरै अफवाहहरु सुनिएकै हुन् । पारपाचुके गरेकै सम्बन्धमा पनि यस अघिका विभिन्न समयमा उनले नबताएका होइनन्  तर फेरी हामी मिल्यौं भन्ने उनका समाचार आउँथे र ती प्रसङ्ग त्यसै सेलाउँथे । यसपटक भने उनले पारपाचुके गरेर मिलेको समाचार भने आएको छैन । यस हिसाबले हेर्दा उनीहरुको सम्बन्ध साँच्चिकै छुट्टिएको हो की भन्ने लख काट्न सकिन्छ ।