त्यो कुन नेपाली चलचित्र होला जुन चलचित्रमा धुम्रपान मद्यपान गरेको देखाएको नहोस् । हरेक चलचित्रमा धुम्रपान सेबनका दृष्यहरु सजिलै देख्न सकिन्छ । पर्दा भित्र मात्र नभएर पर्दा बाहिर पनि सेलिब्रेटीहरू सार्वजनिक स्थलमा धुम्रपान सेबन गरिरहेका हुन्छन् ।
चलचित्रको रंगिन संसारमा अभिनय गर्ने नायक तथा नायिका भनेका आम दर्शकका प्रेरणाका पात्र हुन सक्छन् । कसैलाई राजेश हमाल जस्तो बन्न मन लाग्ला त कसैलाई बिराज भट्ट, निखिल उप्रेती, आर्यन सिक्देल, दिलिप रायमाझी जस्ता कलाकार बन्न मन लाग्न सक्छ । किनकी हाम्रा नायकहरुलाई मात्रै मन पराएर फिल्म हेर्न जाने दर्शकहरु पनि धेरै छन् । चलचित्रको कथाबस्तु जे भए पनि नायक कै भरमा चलचित्र चलिरहेका छन् ।
चलचित्र हेरि सकेपछि आफ्नो मन परेको नायकले चलचित्रमा जे-जे गर्यो त्यसको नक्कल प्राय सबैले गर्न पुग्छन् । राम्रो कामको नक्कल गर्दा त राम्रै हो तर नराम्रा कुराको नक्कल गर्दा युवापुस्तामा कस्तो असर पर्ला त्यो बुझन जरुरी छ । भर्खरै प्रर्दशन भएको चलचित्र निगरानीको दर्शक प्रतिकृया लिने क्रममा एक जना दर्शकले चलचित्रमा नायकले पटक पटक धुम्रपान गरेको देखाउदा दर्शकहरु पनि त्यो लतमा लाग्न सक्ने कुरा व्यक्त गरेका थिए । त्यस्तै रिकभरिङ धरानका तदर्थ समितिका अध्यक्ष दिनेश राईले आफ्नो प्रतिकृया दिदै भनेका छन्, 'लागु पदार्थको सेबन बृद्धि गराउनुमा सिने क्षेत्र पनि एक हो ।'
नकारात्मक अभिनय गर्ने खलनायक भन्दा पनि सकारात्मक अभिनय गर्ने नायक नायिकाले धुम्रपान गर्दा त्यसको प्रत्यक्ष असर युवापुस्तामा पर्नेछ । त्यस्तै लागु पदार्थ बिरुद्धको काम गर्ने संस्था नारकोनन् नेपालका अध्यक्ष बसन्त कुवँरको बिचार अनुसार चलचित्रमा धुम्रपान गरेको दृष्य देखाउँदा धुम्रपान गर्न प्रोत्साहन गरिरहेको हुन्छ । चलचित्रमा धुम्रपानका दृष्य नराखि पनि हुदैन तर पनि त्यस्ता दृष्य कम राख्दा राम्रो हुने कुरा व्यक्त गरेका छन् ।
२०६८ साल बैसाख १ गते देखि सरकारले सार्वजनिक ठाउँमा धुम्रपान गर्न पूर्णतया रोक्न निति नै ल्याएको छ । चलचित्र पनि सार्वजनिक सम्पति हो यसले प्रत्यक्ष रुपमा जनतामा सम्बन्ध राख्ने भएकाले चलचित्र भित्र खलनायकले भन्दा पनि नायकले नै धुम्रपान सेबन गराएको देखाउँदा धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने सन्देश आम दर्शक माझ कुन रुपमा जाला ? कसैले यो बारे सोचेको छ ? चलचित्र समाजलाई सकारात्मक सुधार तर्फ लैजाने एउटा बाटो हो त्यसैले चलचित्र निर्माण गर्दा समाजमा के कस्तो फाइदा या बिकृति बढ्न सक्छ राम्ररी बुझेर काम गरे कसो होला ?