एघार दिन धरान र आसपासका क्षेत्रमा छायांकन सकेर चलचित्र 'म तिम्रो भईसकें' को छायांकन युनिट सोमबार राजधानी फर्केको छ । चलचित्रको इन्डक्ल्याप धरान विजयपुरमा द्वन्द्वको छायांकन खिचेर गरिएको हो । छायांकनको अन्तिम दिन चलचित्रका नायक जीवन लुइँटेललाई खलनायकको आक्रमणबाट घाइते बनाएको दृश्य खिचिएको थियो ।
३९ औ दिनमा छायांकन समापन भएको सो चलचित्रको तीस प्रतिशत छायाँकन पूर्वको विराटनगर एयरपोर्ट, धरानको विजयपुर, वीपी क्याम्प, भानुचौक, भेडेटार, तमौर लगायतका स्थानमा भएको थियो । चलचित्रको दुई गीत, मुख्य कथा र द्वन्द्वको छायांकन पूर्वमा गरिएको छ । चलचित्रको मुख्य कथा नै पूर्वको धरानबाट शुरु हुने भएकोले अधिकांश दृश्य यतै खिचिएको चलचित्रका निर्माता तथा निर्देशक विकास आचार्यले जानकारी गराए ।
एक सातामा छायाँकन सक्ने लक्ष्य राखिए पनि खराब मौसम र अचानक परेको असीना पानीले छायाँकनको समयावधि बढाएको थियो । अवधि बढे पनि रमणीय दृश्य चलचित्रमा कैद गर्न पाएकोमा आचार्य मख्ख छन् । चलचित्रको इन्क्ल्यापसँगै मंगलबारबाट प्राविधिक कार्य शुरु हुनेछ । चलचित्रको छायाँकनको लागि नायक जीवन लुइटेल, नायिका ऋचा सिंह ठकुरीलगायतको टोली पूर्व आएको थियो ।
वान टाइम्स सिनेमा प्रालिको व्यानरमा विकास आचार्यकै निर्माण तथा लेखन रहेको सो चलचित्रमा जीवन र ऋचाक अलावा, उत्तम केसी, विज्ञान सापकोटा, अयुब केसी लगायतको अभिनय रहेको छ । शम्भु सापकोटाको छायांकन रहेको चलचित्रमा बसन्त सापकोटाको संगीत सुन्न पाइने छ ।