ईन्डिजिनियस फिल्म आकाईभ (आईफा) को आयोजनामा राजधानीमा पाँचौं अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुने भएको छ । महोत्सव आगामी बैशाख ९ गतेदेखि चार दिन सम्म नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा हुने सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो ।
'अपराजिता स्वाभिमानी आदिवासी महिलाहरू' भन्ने मूल भाव बोकी आयोजना हुन लागेको सो महोत्सवमा नेपाल, भारत, अस्ट्रेलिया, ब्राजिल, बर्मा, क्याम्बोडिया, क्यानडा, फिनल्याण्ड, इटाली, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, प्यालेस्टाईन, पेरू, ताईवान, अमेरिका, स्विडेन, रूस, इन्डोनेसिया र भियतनाम गरि २० मुलुकका ४२ चलचित्र प्रदर्शन गरिने भएको छ । जसमा ९० % महिलाले बनाएका चलचित्र रहेको आईफाका अध्यक्ष नबिन सुब्बाले जानकारी गराए ।महोत्सवमा नेपालीतर्फ मगर, नेवार, गुरुङ र राई समुदायका चलचित्र छनौट भएका छन् ।
महोत्सवमा जाति, भाषा, संस्कृति, शिक्षा, आत्मपहिचान लगायतका बिषयमा बनेका चलचित्रको बाहुल्यता रहेको अध्यक्ष सुब्बाको भनाई छ । अध्यक्ष सुब्बाका अनुसार डेढ मिनेटदेखि एक सय दुई मिनेटसम्मका चलचित्र तथा वृत्तचित्र समावेश सो महोत्सवमा ४७ वटा वृत्तचित्र बनाइसकेकी क्यानडाकी ७७ वर्षीया फिल्मकर्मी अलानिस ओबोमसाविन प्रमख अतिथिका रुपमा उपस्थित हुँदैछिन् । यसैगरी महोत्सवमा सहभागी हुन क्यानडा, अमेरिका, फिनल्यान्ड, ताइवान, पोल्यान्ड, न्युजिल्यान्ड र भारतका १४ जना चलचित्रकर्मी नेपाल आउँदैछन् ।
महोत्सवमा उत्कृष्ट तीन चलचित्रलाई क्रमशः गोल्डेन ड्रम सिल्भर ड्रम र ब्रोन्ज ड्रम अर्वाड दिइनेछ भने नेपालीतर्फ उत्कृष्ट एक चलचित्रलाई प्रोत्साहन स्वरुप नगद रू २५ हजार प्रदान गरिने भएको छ । त्यसैगरी दर्शक छनौटको आधारमा एक चलचित्रलाई पब्लिक च्वाईस अवार्ड पनि प्रदान गरिने भएको छ । पुरस्कृत तथा सहभागी चलचित्रकर्मीलाई गोकर्ण रिसोर्टमा हुने 'रेड कार्पेट तथा अवार्ड नाईट' समारोहमा सम्मान गरिने महोत्सव निर्देशक रेन्चन योञ्जनले जानकारी गराईन् ।
महोत्सवको जुरीको रूपमा फिनल्याण्डको स्काब्मागोभात फिल्म फेस्टिवलकी निर्देशक सुभी बेष्ट, क्यानडाको मिडिया तथा फिल्म फेस्टिभल संस्था इमेजिनेटिभका कार्यकारी निर्देशक जेसन राइल र अन्तर्राष्ट्रिय रुपमा पुरस्कृत नेपाली फिल्म निर्देशक छिरिङतार शेर्पा रहने बताईएको छ । महोत्सवमा मध्यान्न १२ बजेदेखि चलचित्र प्रदर्शन गरिने छ ।