बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको पार्थिव शरीरलाई दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उनको पार्थिव शरिरमा दुई छोरा त्रिलोक आचार्य र मोहित आचार्यले दागबत्ती दिएका थिए ।
मष्तिस्क पक्षघातका कारण ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा बुधबार निधन भएको थियो । उनको पार्थिव शरीरमा अन्तिम श्रद्वाञ्जली दिनका लागी नेपाली सिनेमा क्षेत्रका चिरपरिचित अनुहार तथा राजनितिज्ञहरूको बाक्लो उपस्थिती थियो भने सर्वसाधारणहरूको पनि आर्यघाटमा उल्लेखनिय उपस्थिती रहेको थियो ।
यसैबिच प्रधानमन्त्री झलनाथ खनालले एक प्रेश बिज्ञप्ती जारी गरी आचार्यको असामयिक निधन प्रति शोक व्यक्त गरेका छन् । ‘आचार्यको निधनप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त मेरा मित्र हरिवंश आचार्य र सिंगो परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछु’ खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
मुटु रोगका कारण पेसमेकर (कृत्रिम ह्रदय गति उपकरण) जडान गरिएकी आचार्यलाई आइतबार अस्पतालको आईसीयू उपचारकक्षमा भर्ना गरिएको थियो । अवस्था चिन्ताजनक भएपछि हिजो उनलाई कृत्रिम श्वास प्रणालीमा राखिएको थियो। वि.सं. २०४० माघ ९ गते हरिवंशसँग विवाह सम्बन्ध गाँसेकी मीराका दुई मात्र सन्तान छन् । मीरा रेडियो नेपाल र विभिन्न एफएमकी चर्चित कार्यक्रम प्रस्तोता पनि थिइन्। विभिन्न विज्ञापन र सिरियलहरुमा उनले आवाज दिएकी थिइन्।
यस दुःखद घडीमा दिबंगत हुनुभएकी मीराको आत्माको चिर शान्तिको कामना गर्दै फिल्मीखबर डटकम परिवार शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समबेदना प्रकट गर्दछ ।