नेपाली चलचित्र 'वीर' को छायांकन युनिट काममा भन्दा पनि बढि घुमफिरमै व्यस्त देखिएको छ । गत चैत्र महिनाको दोस्रो साताबाट छायाँकन शुरू गरिएको सो चलचित्र कहिले दाङ, कहिले पोखरा त कहिले काठमाण्डौ आउन र जानमै व्यस्त भएको छ ।
चलचित्रको छायाँकन शुरूमा दाङबाट गरिएको थियो तर दाङमा उपयुक्त लोकेशन नभएको भन्दै युनिट पोखरा पुग्यो । पोखरामा दुई गीतको छायाँकन गरेपछि त्यहाँ पनि सुटिङका लागि उपयुक्त लोकेशन नभेटेपछि युनिट काठमाण्डौ आयो । तर काठमाण्डौमा पनि छायाँकन गर्न नसकेपछि युनिट केहि दिन अघि पुन: दाङ गयो तर निर्देशक र कलाकारलाई नलिई ।
चलचित्रका निर्माता रम्भा ओली दाङकै भएका कारण ओलीले कलाकार र निर्देशकलाई थाहै नदिई बाँकी युनिटलाई केहि दिन अघि दाङ बोलाएको थियो र निर्माताको आग्रह बमोजिम युनिट पनि दाङ पुग्यो । निर्देशक दिपक श्रेष्ठले यो कुरा थाहा पाएपछि रातारात उनी दाङ पुगे तर चलचित्रका मुख्य कलाकार रेखा थापा र यश कुमार भने दाङ गएनन् । फलस्वरूप दाङमा केहि एक्सनका दृश्य खिचेर युनिट पुन: काठमाण्डौ आउँदैछ ।
नायिका रेखा थापा दाङ नगएर आफ्नो गृहनगर मोरङ गएपछि युनिट काठमाण्डौ आउन बाध्य भएको बुझिएको छ । कारण रेखा बारम्बार दाङ जान नमानेको कुरा फिल्मीखबरले पत्ता अगाएको छ । यता चलचित्रका नायक यश कुमार पनि सांगितिक कार्यक्रमका लागि केहि दिन अघि झापा पुगेका थिए । उनी पनि घरिघरि दाङ जान नमानेको बुझिएको छ । यसरी चलचित्रका मुख्य पात्र नै दाङ नपुगेपछि युनिट काठमाण्डौ फर्कन बाध्य भएको हो । अब चलचित्रको बाँकी भागको छायाँकन काठमाण्डौमा गरिने भएको छ ।
चलचित्रमा यस्तै अर्को रोचक प्रसङ पनि छ । शुरूमा चलचित्रको नायकका रूपमा अमिर राजलाई छनोट गरिएको थियो । उनले केहि दिन अभिनय गर्ने कोशिस पनि गरे तर उनले अभिनय गरेर खान नसक्ने देखेपछि निर्देशकले रातारात गायक यश कुमारलाई दाङ बोलाएको थियो । बुझ्नमा आएअनुसार निर्माताका आफ्न्त भनिएका अमिर लगानी गरेर चलचित्रमा अभिनय गर्दै थिए तर नाच्न पनि नजान्ने अभिनय गर्न पनि नजान्ने भएपछि उनी निकालिएका हुन् । पैसा हाल्दैमा नायक हुने सपना देख्नु मुर्खता हो भन्ने कुराको उदाहरण अमिर भएका छन् ।
जे होस् कहिले वारि त कहिले पारि र कहिले कुन कलाकार त कहिले कुन कलाकार लिएर घुमफिर मै व्यस्त चलचित्र 'वीर' को युनिटले निर्माताको धेरै पैसा खर्च नगराई चाँडो भन्दा चाँडो काम सकोस् । फिल्मीखबरको यहि छ शुभकामना !