मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरू

फिल्मीखबर, काठमाण्डौ, 2011/04/22

ईन्डिजिनियस फिल्म आकाईभ (आईफा) को आयोजनामा राजधानीमा पाँचौं अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरू भएको छ । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चार दिन सम्म चल्ने सो महोत्सवको आज मध्यान्न उदघाटन गरिएको थियो ।

 

'अपराजिता स्वाभिमानी आदिवासी महिलाहरू' भन्ने मूल भाव बोकी आयोजना भएको सो महोत्सवको पहिलो दिन पहिलो शो अर्न्तगत नर्वेकी महिला निर्देशक लिभ लङ्गेर सोम्बेद्धारा निर्देशित डकुमेन्ट्री 'द ग्लोबल नोम्याड' अर्थात फिरन्ते प्रदर्शन गरिएको थियो । सो डकुमेन्ट्री बिश्व प्रख्यात गायिका मारी बोईनेको पोट्रेटमा आधारित छ । त्यसैगरी आजै अमेरिकी निर्देशक जर्जिना लाइटनिङद्धारा निर्देशित 'ओल्डर देन अमेरिका', जर्मनी र बर्माका निर्देशकद्धय क्यारोलिन रकेलिन र करिन डरले निर्देशन गरेको 'इन द मिडल अभ द ब्रीज' र अष्ट्रेलियन निर्देशकको 'लानीज स्टोरी' प्रदर्शन गरिएको थियो ।

 

महोत्सवमा नेपाल, भारत, अस्ट्रेलिया, ब्राजिल, बर्मा, क्याम्बोडिया, क्यानडा, फिनल्याण्ड, इटाली, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, प्यालेस्टाईन, पेरू, ताईवान, अमेरिका, स्विडेन, रूस, इन्डोनेसिया र भियतनाम गरि २० मुलुकका ४२ चलचित्र प्रदर्शन गरिंदै छ । जसमा ९० % महिलाले बनाएका चलचित्र रहेको छ । महोत्सवमा नेपालीतर्फ मगर, नेवार, गुरुङ र राई समुदायका चलचित्र प्रदर्शन हुँदैछन् । डेढ मिनेटदेखि एक सय दुई मिनेटसम्मका चलचित्र तथा वृत्तचित्र समावेश सो महोत्सवमा जाति, भाषा, संस्कृति, शिक्षा, आत्मपहिचान लगायतका बिषयमा बनेका चलचित्रको बाहुल्यता रहेको बताईएको छ ।

 

महोत्सवमा उत्कृष्ट तीन चलचित्रलाई क्रमशः गोल्डेन ड्रम सिल्भर ड्रम र ब्रोन्ज ड्रम अर्वाड दिइनेछ भने नेपालीतर्फ उत्कृष्ट एक चलचित्रलाई प्रोत्साहन स्वरुप नगद रू २५ हजार प्रदान गरिने भएको छ । त्यसैगरी दर्शक छनौटको आधारमा एक चलचित्रलाई पब्लिक च्वाईस अवार्ड पनि प्रदान गरिने भएको छ । पुरस्कृत तथा सहभागी चलचित्रकर्मीलाई गोकर्ण रिसोर्टमा हुने 'रेड कार्पेट तथा अवार्ड नाईट' समारोहमा सम्मान गरिने भएको छ ।

 

महोत्सवको जुरीको रूपमा फिनल्याण्डको स्काब्मागोभात फिल्म फेस्टिवलकी निर्देशक सुभी बेष्ट, क्यानडाको मिडिया तथा फिल्म फेस्टिभल संस्था इमेजिनेटिभका कार्यकारी निर्देशक जेसन राइल र अन्तर्राष्ट्रिय रुपमा पुरस्कृत नेपाली फिल्म निर्देशक छिरिङतार शेर्पा रहेका छन् ।