मेरो एउटा साथी छ जस्तो राम्रो चलचित्र पस्किएका युवा निर्देशक सुदर्शन थापाले निर्देशन गरेको पछिल्लो चलचित्र 'के यो माया हो ?' प्रदर्शनको संघारमा पुगेको छ । गएको असोज तेह्र गते जोमसोमबाट छायाँकन प्रारम्भ गरिएको सो चलचित्र आउँदो साउन महिना भित्रमा दर्शकले हेर्न पाउनेछन् ।
हाल डबिङ कार्य भईरहेको सो चलचित्रमा आर्यन सिक्देल, अरूणिमा लम्साल, शुष्मा कार्की, सौगात मल्ल, निर शाह, किरण केसी, राजाराम पौडेल, सविता गुरुङ, किरण केसी, तृप्ती नाड्कार, केशव भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । अधिकांश भाग पोखराकै रमणिय स्थलमा छायाँकन गरिएको सो चलचित्रलाई पोखरेली निर्माताहरू सुरेश पहारी, गौरव हिराचन र शंकर गुरुङले निर्माण गरेको बताईएको छ ।
एसजीएस ईन्टरटेनमेण्टको प्रस्तुती रहेको उक्त चलचित्र रोमान्टिक प्रेमकथामा आधारित रहि विवाहको महत्वको बारेमा युवामाझ पुर्याउने प्रयास थापाको छ । पछिल्लो पुस्ताको वास्तविकतालाई उतार्न एउटा सानो प्रयास गरिएको भनिएको सो चलचित्रले विवाह नै नगरिसँगै बस्दा आईपर्ने समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्देश दिन खोजेको निर्देशक थापाले जानकारी दिए ।
सुगम पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, भारतीय लेखक निरज विक्रमको पटकथा र संवाद, अनुप कोईरालाको नृत्य र राजेश श्रेष्ठको छायांकन रहेको सो चलचित्र पछिल्लो समयमा निर्माण भएका चलचित्रहरू मध्येको धेरै लगानी भएको चलचित्रको रूपमा लिईएको छ । त्यसैले यो चलचित्रलाई निर्देशक थापाले निकै महत्वकांक्षी चलचित्रको रूपमा लिईएको बुझिएको छ ।