मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महानायकले लत्याए पारसको सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2011/04/25

आईतबार राजधानीको थली भन्ने गाउँमा आयोजना गरिएको एक सम्मान कार्यक्रममा महानायक राजेश हमाल पुगेर पनि सम्मानपत्र नलिई फर्किए । जोरपाटीबाट निकै भित्र पर्ने सो गाउँमा पुगेर पनि सम्मान नलिई फर्किंदा महानायक माथी प्रश्न चिन्ह खडा भएको छ । आखिर उनी किन सम्मानपत्र नलिई हिंडे त ?

 

आयोजक श्री कोलमत्तेश्वर महादेव बिशेष पुजा व्यवस्थापन मूल समारोह समितीले मध्यान्न साढे बार्‍ह बजे पूर्व युवराज पारस शाहको हातबाट सम्मान गर्ने भनि कलाकारहरूलाई बोलाएको थियो । पारसको हातबाट सम्मान पाउने भएपछि महानायक सहितका नायिकाद्वय झरना थापा, नन्दिता केसी, निर्देशक किशोर राना, निर्माता संघका अध्यक्ष राजकुमार राई, गीतकार शितल कादम्बिनी, निर्देशक प्रशन्न पौडेल, नवनायिकाद्वय अनु शाह र बेनिशा हमाल लगायतका कलाकारहरू करिब एक बजे भित्रमै कार्यक्रम स्थलमा पुगिसकेका थिए । तर पूर्व युवराज पारसको आगमन समयमा नभएपछि कलाकारहरू निकै बेर मुकदर्शक भएर बस्नु परेको थियो ।

 

पूर्व युवराज पारस आउने भन्ने थाहा पाएपछि आयोजक र उपस्थित दर्शकहरू उनकै प्रतिक्षामा देखिन्थे । त्यहाँ उपस्थित कलाकारहरूलाई वास्ता गर्ने कोहि भेटिएको थिएन र पनि सम्मानित हुन पुगेका कलाकारहरू पारसकै प्रतिक्षामा बसे । आयोजकले दुई बजे भित्रमा कार्यक्रम सकिने बताएपछि कलाकारहरू त्यहि अनुरूप आफ्नो समय व्यवस्थापन गरेर थली पुगेका थिए तर साढे दुई हुँदा सम्म पनि कार्यक्रम शुरू हुन सकेको थिएन । करिब पौने तीन हुँदा पारसको सवारी भयो । उपस्थित सबै दर्शकहरूको अनुहारमा चमक देखियो तर कलाकारहरूको अनुहारमा भने कुनै चमक देखिएन ।

 

कार्यक्रम निकै ढिलो शुरू हुने छाँट देखेपछि महानायक राजेश हमाल पारस आएको करिब १० मिनेटमै सम्मानपत्र नलिई फर्किए । उनी ड्यासबाट उठेर हिंड्न लाग्दा आयोजक कसैको नजर उनीमाथी परेन जसले गर्दा सहज तरिकाले उनी ड्यासबाट बाहिर निस्के । फर्कनु पूर्व उनले पारससँग एक मिनेट जति कानेखुसी भने गरेका थिए । के कुरा गरे त्यो त उनीहरू नै जानुन् तर महानायकले भने पारसको हातबाट दिईने भनिएको सम्मानपत्र ग्रहण गरेनन् । महानायक हमाल गएपनि उनको सो सम्मानपत्र सहयोगी चिरञ्जिबी आचार्यले ग्रहण गरेका थिए ।

 

ड्यासबाट निस्कनु पूर्व महानायक हमालले फिल्मीखबरसँग कुरा गर्दै भनेका थिए, 'हामी मजदुर मान्छे काम गरेर खानु पर्छ । युवराज जस्तो मान्छेलाई हामी पर्खेर बस्न थाल्ने हो भने हाम्रो मुखमा माड नलाग्न सक्छ । त्यसैले म त सुटिङमा निस्कनु पर्छ अब ।' राजेशको भनाई अनुसार उनले निर्देशक शोभित बस्नेतलाई तीन बजे भित्रमा सुटिङ स्पटमा उपस्थित भईसक्ने बताएका रहेछन् । रेजिना उप्रेतीले निर्माण गरेको चलचित्र 'वरदान' मा अभिनय गरिरहेका महानायकले भने, 'म समयमा पुगिन भने त निर्देशक ज्यूले मार्नु हुन्छ ।' 

 

महानायकले सम्मान नलिएपनि नायिका झरना थापा र नन्दिता केसी, निर्देशक किशोर राना र निर्माता संघका अध्यक्ष राजकुमार राईले भने पूर्व युवराज पारसको हातबाट सम्मानपत्र लिए । सम्मानपत्र लिनु पूर्व संघका अध्यक्ष राईले फिल्मीखबरसँग भने, 'राजेश जि त जानु भयो तर हामी पनि गईदिने हो भने आयोजकलाई नराम्रो हुनसक्छ त्यसैले हामी सम्मानित भएरै जान्छौं । समय भनेको आउँछ जान्छ तर यस्तो सम्मान बारम्बार आउँदैन ।'

 

यता कार्यक्रममा अतिथीको रूपमा बोलाएका अन्य कलाकारहरूलाई भने आयोजकले सम्मान गरेन । मात्र उनीहरूलाई ड्यासमा बोलायो । उनीहरूलाई सम्मान गर्न बोलाएको हो या हैन त्यो भने बुझ्न सकिएन तर पनि निकै टाढा सम्मान पाउने आशमा पुगेका अन्य कलाकारहरू खाली हात घर फर्के ।