देशभर प्रदर्शन भईरहेको चलचित्र निगरानीका निर्देशक राजेन्द्र उप्रेती नयाँ चलचित्रको छायाँकनमा व्यस्त रहेका छन् । उनको निर्देशनमा अहिले राजधानिमा चलचित्र कस्लाई आफ्नो भनुँको छायाँकन धमाधम भईरहेको छ ।
बैशाख ५ गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रमा झरना थापा, राज तिमल्सिना, सुवास मेचे, अनिता दाहाल, मिथिला शर्मा, मनोज लामिछाने लगायतका कलाकारहरूले अभिनय गर्दैछन् । मह स्टुडियोबाट छायाँकन प्रारम्भ गरिएको सो चलचित्रको अहिले चोभारमा छायाँकन भईरहेको छ । प्रेमकथामा आधारित रहेर निर्माण शुरू गरिएको सो चलचित्रमा बिपिन आचार्य र अर्जुन पोखरेलको संगीत, बब्बु थापा र प्रदिप श्रेष्ठको करियोग्राफी, देब महर्जनको द्वन्द, शिबम् अधिकारीको कथा तथा बिमल ढकालको सिनेमाटोग्राफी रहने छ ।
गुरूकुल फिल्मसको व्यानरमा सुरेश हमालको प्रस्तुती रहेको सो चलचित्रलाई लक्ष्मण लम्साल र डिल्लिराज रजारेले निर्माण गर्दै छन् । चलचित्र शिलशिलामा सोनिया केसीसँग चुम्बन गरेर चर्चामा आएका नायक राज तिमल्सिना यस चलचित्रमा भने प्रेमी केटाको भुमिकामा प्रस्तुत हुँदैछन् । व्यवसायिक निर्देशकको रूपमा चिनिएका निर्देशक उप्रेतीको शिलशिला सर्वाधिक हिट चलचित्र थियो भने अर्को चलचित्र जय शिब शंकर राजधानिमा प्रदर्शन हुने तयारीमा छ । यता प्रदर्शन भईरहेको चलचित्र निगरानीले पनि दर्शकको मन जितिरहेको निर्देशकको दाबी छ ।