हाईटेक इन्टरटेन्मेन्टका सञ्चालक राजेन्द्र मानन्धर अहिले निकै तनावमा छन् । उनी सायद यो भन्दा अघि यति धेरै टेन्सनमा थिएनन् होला । सोमबार फिल्मीखबरसँग फोनमा कुरा गर्दै मानन्धरले भने, 'गोपीकृष्णले त मेरो घरबार नै उठाउने भयो ।' के भयो र ? भनि फिल्मीखबरले प्रश्न गर्दा उनले फोन मार्फत जवाफ दिए, 'अस्ति जीवनमृत्यु देखाईदियो हिजो फेरि कुसुमे रूमाल-२ पनि देखाईदियो ।'
तीन बर्षका लागी भनेर गोपीकृष्ण मुभिजसँग किनेको दुई चलचित्र 'जीवनमृत्यु ' र 'कुसुमे रूमाल-२' टेलिभिजनबाट प्रशारण भएपछि मानन्धरले आफ्नो रातको निन्द्रा हराएको बताए । तीन बर्षसम्म कुनै पनि टेलिभिजन, केबुल जस्ता च्यानलहरूबाट चलचित्र प्रदर्शन गर्न नपाउने भनि हाईटेक इन्टरटेन्मेन्टले गोपीकृष्ण मुभिजसँग दुई चलचित्र 'जीवनमृत्यु ' र 'कुसुमे रूमाल-२' रू १६ लाखमा किनेको थियो तर किनेको डेढ बर्ष बित्न नपाउँदै गोपीकृष्णले ति दुबै चलचित्र आफ्नै टेलिभिजन 'गोपीकृष्ण टिभी फिल्मी' बाट प्रशारण गरिदिएको छ ।
गोपीकृष्ण मुभिजले मिती २०६६ साल कार्तिक १५ गते चलचित्र 'जीवनमृत्यु ' र 'कुसुमे रूमाल-२' को भिडियो अधिकार हाईटेक इन्टरटेन्मेन्टलाई तीन बर्षका लागि दिएको थियो । तर अहिले तीन बर्ष बित्न नपाउँदै गोपीकृष्णले धोका दिएर चलचित्र प्रदर्शन गरिदिएपछि मानन्धर के गर्ने के नगर्ने भन्ने बारेमा केहि सोच्न नसकेको बताउँछन् । ०६८ साल बैशाख १ गते साँझ चलचित्र 'जीवनमृत्यु' प्रदर्शन गरिदिए पछि सोको बिरूद्वमा नेपाल श्रव्य दृश्य उधमी संघले शुक्रबार बिहान नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय कालिकास्थानमा मुद्दा दायर गरेको थियो । जुन कुरालाई फिल्मीखबरले समाचार बनाई सम्प्रेषण गरेको थियो ।
गोपीकृष्ण मुभिजका सञ्चालक उद्वब पौडेल र उनका छोरा निरक पौडेल |
फिल्मीखबरमा प्रकाशित भएको सो समाचार पढेपछि गोपीकृष्णले आईतवार साँझ पुन: कुसुमे रूमाल-२ देखाईदिएको छ । यसका साथै गोपीकृष्णले एक प्रेसबिज्ञप्ती जारी गरी सम्झौता पत्रमा आफ्नो टेलिभिजनबाट चलचित्र प्रशारण गर्न नपाउने भन्ने कुरा उल्लेख नगरिएको बताएको छ । तर दुई पक्ष बिच भएको सम्झौता पत्रमा थुप्रै शर्तहरू मध्ये १० नम्बरको शर्तमा लेखिएको छ, 'द्वितिय पक्ष (गोपीकृष्ण मुभिज) ले उल्लेखित चलचित्र प्रदर्शन भए पश्चात प्रथम पक्षलाई मास्टर कपि उपलब्ध गराएको मितीले ३ बर्षसम्म कुनै पनि टिभी, केबुल जस्ता सार्वजनिक प्रदर्शन हुने माध्यमहरूबाट प्रदर्शन गर्ने अधिकार दिन पाउने छैन ।'
यसरी भिसिडी तथा डिभिडि व्यवसायिको व्यापारमा धक्का पुग्ने गरि चलचित्र प्रशारण गरिदिए पछि नेपाल श्रव्य दृश्य उधमी संघले सो कार्यको घोर बिरोध गरेको छ । बुझ्नमा आए अनुसार नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको तर्फबाट कुनै कानुनी कार्य नभए नेपाल श्रव्य दृश्य उधमी संघ सर्वोच्च अदालतको ढोका सम्म पुग्ने भएका छन् ।