एमएस अग्रजले निर्देशन गरेको पहिलो चलचित्र 'मार्यो नि मायाले मार्यो' शुक्रबारबाट मोफसलका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ । मोफसलका पोखरा, बुटलब, नारायणघाट, बिर्तामोड लगायतका करिब एक दर्जन सिनेमा घरहरूमा सो चलचित्र रिलिज हुँदैछ ।
वर्तमान राजनीति, सामाजिक संरचना एवं मायाप्रेमका कथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्र मोफसलबाट रिलिज हुन लागेको एक मात्र चलचित्र हो । स्वछन्द फिल्मस्को व्यानरमा बाबु बलामी र सीता बलामीले निर्माण गरेको सो चलचित्रमा राजेश हमाल, शोभिता सिम्खडा, प्रमोद खड्का, हिमाल काफ्ले, गीता अधिकारी, शिवानी बलामीलगायतको अभिनय रहेको छ ।
चलचित्रमा सुरेश चौधरीको नृत्य, मनोहर सुनामको संगीत, सौरभ लामाको छायांकन र बीएस बलामीको द्वन्द्व निर्देशन रहेको छ । नायिका शोभिता सिंखडा अहिले यो चलचित्र रिलिज हुन लाग्दा निकै उत्साहित छिन् । कारण उनी यस चलचित्रमा सोलो नायिकाको रूपमा प्रस्तुत हुँदैछिन् । यता निर्देशक अग्रज भने आफ्नो पहिलो चलचित्र रिलिज हुँदा पनि खासै खुसी देखिंदैनन् । बरू उनी आफ्नो दोस्रो चलचित्र 'भैहाल्छ नि' को लागी उत्साहित छन् । सो चलचित्रको भर्खरै मात्र छायाँकन सकिएको छ ।