केहि समय अगाडी पाईरेसी काण्डमा परेको चलचित्र 'बाटो मुनिको फूल' को डिभिडी तथा भिसिडीलाई हाईटेक इन्टरटेन्मेन्टले बजारमा ल्याउँदै छ । अहिले प्रायको मोबाईल र कम्प्युटरमा सो चलचित्र सेभ भएर बसेको भएपनि गुणस्तरिय चलचित्र हेर्न चाहनेका लागी हाईटेकले शुक्रबारबाट सो चलचित्रलाई बजारमा पठाउँदैछ ।
सुरज सुब्बा निर्देशित चलचित्र 'बाटो मुनिको फूल' गत बर्षको मंसिर महिनामा सार्वजनिक भएको थियो । सार्वजनिक भएको करिब एक महिनामै सो चलचित्र पाईरेसी भएको थियो । चलचित्र पाईरेसी भएपछि निर्माता त डुबे नै यसका साथमा हाईटेक इन्टरटेन्मेन्टले पनि ठूलै रिक्स लिएर अहिले डिभिडी तथा भिसिडी बजारमा ल्याएको छ । के अब दर्शकले किन्लान् त ? हाईटेक इन्टरटेन्मेन्टका सञ्चालक राजेन्द्र मानन्धर भन्छन्, 'यदि नेपाली चलचित्रलाई माया गर्ने दर्शक छन् भने पक्कै पनि यो चलचित्रको डिभिडी किनेर नै हेर्नेछन् ।' चलचित्र त अहिले हरेकको घरघरमा पुगिसकेको छ नि ! भन्दा मानन्धर भन्छन्, 'क्वालिटीको सिनेमा हेर्न चाहनेका लागी हो यो डिभिडी । अझ यो चलचित्रलाई अंग्रेजीमा सबटाईटलिङ पनि गरिएको छ ।'
चलचित्र पाईरेसी भएपनि दर्शकहरू अझै यो चलचित्र हेर्न ईच्छुक रहेको मानन्धरको भनाई छ । गायक यश कुमार र राजेश घतानीले निर्माण गरेको सो चलचित्रमा यश कुमार, रेखा थापा, बाबु बोगटी, नन्दिता केसी, आकाश खवास लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसको साथमा महानायक राजेश हमाल पनि सो चलचित्रमा बिशेष भुमिकामा प्रस्तुत भएका छन् । शुक्रबारबाट बजारमा आउन लागेको सो डिभिडीको मूल्य रू २७५ राखिएको छ । डिभिडीलाई हाईटेकले रोयल्टी बेसमा किनेको बताईएको छ ।