नेपाल चलचित्र संघको ४४ औं साधारण सभा राजधानीको भाटभटेनी स्थित वेगम पार्टी प्यालेसमा चलिरहेको छ । सभाको पहिलो चरणको कार्यक्रम सकिएर दोस्रो चरणको कार्यक्रम शुरू भएको छ ।
पहिलो चरणको कार्यक्रम अर्न्तगत उदघाटन सत्र र सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । संचार मन्त्री कृष्णबहादुर महराको प्रमुख अतिथ्यमा सम्पन्न भएको उदघाटन सत्रमा संघले आठ जना व्यक्तिलाई यस बर्षको नेपाल चलचित्रकर्मी स्मृति सम्मानबाट सम्मानित गर्यो । नगद रू ११ हजार १११ रुपैंया र ताम्रपत्र सहित बिश्वज्योती गरिबनाथ सराफ प्रकाश थापा स्मृति निर्देशक सम्मानबाट बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, द्वारिका प्रसाद उदय शिबशंकर मानन्धर स्मृति अभिनेता सम्मानबाट सदावहार नायक भुवन केसी, गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मानबाट मिथिला शर्मा, भुवनेश्वर आमात्य नारायण गोपाल स्मृति संगीत सम्मानबाट शम्भुजित बाँस्कोटा, शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकार सम्मानबाट विजयरत्न तुलाधर, हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर स्मृति लेखन सम्मानबाट शिव रेग्मी, क्वेस्ट इन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट रजनीनाथ पन्त र चन्द्रप्रसाद पराजुली गोपाल भुटानी स्मृति द्वन्द कलाकार सम्मानबाट राजेन्द्र खड्गी सम्मानित भएका छन् ।
सम्मानित हुने चलचित्रकर्मीलाई सम्मान गर्दै मन्त्री महराले आगामी वर्ष भित्रमा नेपालमा एउटा फिल्म सिटी बनाउने प्रतिबद्वता जनाए । उनले भने, 'नेपाली चलचित्रको बिकासलाई ध्यानम राखेर यसै बर्ष भित्रमा फिल्म सिटी निर्माणको कार्य शुरू गरिने छ ।' यसै गरी मन्त्री महराले चलचित्र विकास बोर्डको नयाँ पदाधिकारी १/२ दिन भित्रमा नै चयन गरिने बताए । बुझ्नमा आए अनुसार बोर्डको नयाँ कार्यसमितीको अध्यक्ष पदमा गणेश भण्डारीलाई नियुक्त गरिने भएको छ । भण्डारी गत बर्ष माओवादीको सरकार हुँदा अध्यक्ष भएका थिए ।