शनिबार चलचित्र 'जब जब माया बस्छ' का निर्माता मणिराम पौडेल निकै टेन्सनमा देखिन्थे । बालाजु स्थित चलचित्र बिकास कम्पनीमा भेटिएका उनको छटपटी देख्दा लाग्थ्यो कि उनलाई कसैले धोका दिएको छ ।
प्रसङ हो चलचित्र 'जब जब माया बस्छ' को डबिङको । शनिबार साँझ नायक जीवन लुईटेल सो चलचित्रका लागि डबिङ गर्दैथिए । उनलाई पाँच बजेसम्म डबिङ गर्न भनिएको थियो । त्यसपछिको पालो थियो नायिका रेखा थापाको । नायिका रेखा भने डबिङ गर्ने स्थानमा थिईनन् । उनी कहाँ छिन् भन्ने कुरा निर्मातालाई थाहा थिएन । रेखाको पालो आउने बेला तिर निर्माता पौडेलले रेखाको मोबाईलमा फोन गरे । तर आवाज आयो, 'माफ गर्नुहोला ! तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोबाईलको स्विच अफ गरिएको छ ।' रेखासँग कुरा हुन नपाएपछि निर्माता निकै टेन्सनमा देखिए । उनी भन्दै थिए, 'रेखाले मोबाईल किन अफ गरेको होला ?'
निर्माता पौडेलले फिल्मीखबर डटकमको समाचार पढ्न नभ्याएर होला रेखाले मोबाईल बोक्न छाडेको कुरा थाहा नपाएको । निर्माता पौडेलले रेखासँग कुरा गर्न निकै प्रयत्न गरे । उनले घरि छबि ओझाको मोबाईलमा फोन गर्थे त घरि घरको फोनमा । तर पनि उनले रेखासँग सम्पर्क गर्न सकेका थिएनन् । करिब आधा घन्टा सम्म उनले रेखासँग सम्पर्क गर्ने प्रयास गरे तर सफल भएन । रेखासँग सम्पर्क गर्न नसकेर दिक्क मानेका पौडेललाई निर्देशक बिजय थापाले रेखा चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को छायाँकनमा हुनसक्ने बताएपछि उनको मुहारमा खुसी छायो । त्यसपछि उनले 'हाम्रो माया जुनी जुनीलाई' को युनिटलाई फोन गरे । त्यसपछि मात्र उनले रेखासँग कुरा गर्न पाए ।
रेखा सम्पर्कमा आएपछि निर्माता पौडेलले भने, 'तपाईं बालाजुमा छिटो आउन पर्यो । हामी कुरेर बसेका छौं ।' त्यसपछि रेखा करिब आधा घण्टामा बालाजु आईन् र डबिङ गर्न शुरू गरिन् । रेखा डबिङ गर्ने कोठामा पस्न नपाउँदै निर्माता पौडेलले भने, तपाईंलाई फोनमा भेट्न निकै गार्हो हुने भयो । कुनै हटलाईन छैन । ?' त्यसपछि रेखाले जवाफ फर्काइन्, 'अब मेरो हट लाईन नै छबि ओझा हो ।' कारण उनले आफ्नो मोबाईल अहिले छबिलाई बोक्न दिएकी छिन् । त्यसैले अब रेखालाई फोनमा भेट्नु छ भने शुरूमा छबिलाई फोन गर्नुपर्ने हुन्छ ।
यदि रेखा छबिसँगै भईनन् भने ? पक्कै पनि छबिले भन्नेछन्, 'माफ गर्नुहोला ! तपाईले भेट्न खोज्नु भएको नायिका अहिले सुटिङमा छिन् साँझ फोन गर्नुहोला !'