०६७ सालमा प्रदर्शनमा आएका अधिकाशं नेपाली चलचित्रहरु व्यवसायिक रुपमा असफल भएपनि ०६८ सालको शुरुवात चाहिँ सुखद नै देखिएको छ । ०६७ सालको अन्तिम सातावाट प्रदर्शनमा आएका चलचित्र प्रहार र निगरानीले राम्रो व्यापार गरेका छन् । त्यस्तै सोहि समयमा नै प्रदर्शनमा आएको चलचित्र प्रितीको फूलले पनि सन्तोषजनक व्यापार गरेको छ ।
केहि चलचित्रले राम्रो व्यापार गरे पछि अन्य केहि चलचित्रका निर्माता पनि आफ्नो चलचित्रले राम्रो व्यापार गरोस् भन्ने उद्देश्यले प्रदर्शन पूर्व चलचित्रको प्रचार प्रसारमा निकै नै मेहनत गरिरहेका छन् । केहि निर्माता निर्देशक भने यो कुरामा निकै नै पछाडी देखिएका छन् । बैशाख र जेठ महिनामा प्रदर्शनमा आउन लागेका धेरै चलचित्रहरु मध्ये प्रचार प्रसारको लागि चलचित्र दुलही अलि अगाडी नै देखिएको छ । चलचित्र 'दुलही' आउँदो जेष्ठ २७ गते भित्र्याईने भएको छ । अर्थात दुलहीले आउँदो जेठ २७ गतेवाट देशभरि एकै साथ प्रदर्शनमा आउने पालो पाएको छ ।
चलचित्र प्रदर्शनमा आउन करिब डेढ महिना बाँकि रहेको अवस्थामा यो चलचित्रको निर्माण पक्ष अहिले प्रचार प्रसारको लागि देश दौडाहामा छ । यसै क्रममा चलचित्र दुलहीसँग सम्बन्धित व्यक्तिहरुको टोली पूर्वी क्षेत्रको प्रचारात्मक भ्रमण सकेर राजधानी फर्केको छ । पूर्वको भ्रमणको क्रममा चलचित्र दुलहीको टोलीले स्थानिय रेडियो र टिभीमा प्रसारणको लागि अडियो सिडी तथा भिडियो वितरण गर्दै संचारकर्मीहरुलाई भेटेर आफ्नो चलचित्रको बारेमा जानकारी गराएको छ ।
ओ.एस.आर फिल्मसको पहिलो प्रस्तुती चलचित्र 'दुलही' लाई हर्षिता केसीले निर्माण तथा बाबुराम ढकालले निर्देशन गरेका हुन् । करिब ५ वर्ष मुम्बई बसेर वलिउडको अनुभव सँगालेर नेपाल फर्केका निर्देशक ढकालले वलिउडवाट आफूले सिकेको कुरा धेरै हद सम्म प्रयोग गरेर उत्कृष्ट चलचित्र बनाउने प्रयास गरेको बताएका छन् । निर्देशक ढकालले यस अघि 'खुशी पल भरको', 'न लेखिएको साइनो', 'माइती' जस्ता टेलिसिरियल निर्देशन गरेर टेलिभिजनका दर्शकको मन जितिसकेका छन् । त्यसै गरि ढकालद्वारा निर्देशित अर्को चलचित्र 'पर्खि राख है' पनि प्रदर्शनको लागि तयारी अवस्थामा छ ।
पारिवारिक परिवेशलाई मुख्य विषयवस्तु बनाइएको प्रेमकथामा आधारित चलचित्र 'दुलही' मा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल, सुमिना घिमिरे, रवि गिरी, सुरवीर पण्डित, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । धेरै जसो दृश्य निर्देशककै गृह जिल्ला चितवनमा छायाङ्कन गरिएको छ । चलचित्रमा अष्ट लामाको संगित रहेको छ । अष्ट लामाले यहि चलचित्रबाट आफ्नो चलचित्र संगितको यात्रा थालनी गरेका हुन् । चलचित्र दुलहीका सबै गितहरु मुम्बईमा रेकर्ड गरिएका हुन् । चलचित्रका गितमा उदितनारायण झा, साधना सरगम, जाबेद अलि, सुनिधि चौहान, संजिवनी, मंजिरा गाँगुली जस्ता बलिउडका चर्चित गायकगायिकाहरुको आवाज रहेको छ ।