नेपाली चलचित्र प्रेमी दर्शकहरूका लागि एउटा खुसीको खबर छ । तपाईंहरू चलचित्र हेरेर हाँस्न पाउनु भएको छैन भने अब हाँस्न तयार भए हुन्छ । किनकी महानायक राजेश हमाल बाक्लो जुँगा सहित धोती-कुर्ता, जुवारीकोट, काँधमा गलबन्दी र झोला, हातमा छाता, खुट्टामा चप्पल अनिपान चपाउँदै थोत्रो स्कुटरमा चढेर हँसाउन आउँदैछन् ।
बिजय बिक्रम बस्नेत निर्देशित चलचित्र 'हात लाग्यो शून्य' एक 'सिचुअसनल कमेडी' चलचित्र हो । जहाँ महानायक धनाढ्य तर मख्खीचुस मधेसी पात्रको भूमिकामा प्रस्तुत भएका छन् । फरक गेटपममा प्रस्तुत भएर पर्दामा देखिन लागेका हमालले मुख बिगरेर हैन कि आफ्नो लवाइखवाइ, हाउभाउ र जीवनशैलीले दर्शकलाई हँसाउने छन् । उनी चलचित्रमा सोझो पात्रको रूपमा प्रस्तुत हुँदैछन् र दर्शक त्यहि पात्रको क्रियाकलाप देखेर हाँस्नेछन् । यस अघिका चलचित्रमा मुक्का बजार्दै आएका महानायकले चलचित्र 'हात लाग्यो शून्य' मा भने भान्टा र घिरौंलाको सहायताले गुण्डाहरूलाई कुट्नेछन् र सोही दृश्य हेरेर दर्शकहरू मज्जाले हाँस्नेछन् ।
अहिले सम्म अभिनय गरेका चलचित्रमा भन्दा यस चलचित्रमा अभिनय गर्दा छुट्टै आनन्द आएको र नयाँ अनुभव पनि भएको राजेशको भनाई छ । उनी भन्छन्, 'यस्तो चरित्र निभाउन पाउनु मेरो अवसर पनि हो । किनकी यसमा चुनौती छ र त्यसैमा मजा पनि छ ।' नयाँ निर्देशकसँग काम गर्न रमाईलो लाग्ने बताउने महानायक हमालले यस चलचित्रका निर्देशक बस्नेतसँग पनि काम गर्दा निकै रमाईलो भएको बताए । उनले भने, 'बिजय जि को कन्सेप्ट मलाई निकै मन पर्यो ।'
श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र 'हात लाग्यो शून्य' लाई बिश्व नेपालले प्रस्तुत गरेका हुन् भने निर्माताको रूपमा शुभकृष्मा पराजुली, भगवती नेपाल र लक्ष्मी क्षेत्री रहेका छन् । जेष्ठ महिनाको अन्तिम साता या असारमा रिलिज गर्ने तयारी गरिएको सो चलचित्रमा महानायक राजेश हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् ।
विकास चौधरीको संगीत, रामजनकको द्धन्द्ध, लोकचन्द्र थापाको छायाँकन र निर्देशक बस्नेतकै नृत्यनिर्देशन रहेको चलचित्र 'हात लाग्यो शून्य' मा बेली डान्सको प्रयोग गरिएको छ । यसअघि नेपाली चलचित्रमा बेली डान्सको प्रयोग गरिएको थिएन ।चलचित्रको छायाँकन काठमाण्डौ उपत्यका र बुटवलको आसपासका क्षेत्रमा गरिएको हो ।