सदावहार नायक भुवन केसीले तेस्रो बिबाह गर्न लागेको खबर सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आएपछि उनकी दोस्री श्रीमती सुस्मिता केसीले भने खुसी व्यक्त गरेकी छिन् । एक पत्रिकालाई अर्न्तवार्ता दिंदै उनले भनेकी छिन्, 'उहाँलाई साथी चाहिएको थियो । विवाह गर्नुभयो त राम्रै भयो । '
नायक भुवनलाई व्यङ्य गर्दै सुस्मिताले भुवनलाई विवाह गर्ने बानी नै लागेको समेत बताएकी छिन् । तर उनी दु:खी पनि छिन् । दु:खी यो मानेमा कि भुवनले आफ्नो बारेमा नकारात्मक टिप्पणी गर्दै हिड्ने गरेको सुस्मिताको भनाई छ । उनी भन्छिन्, 'उहाँलाई एउटा मात्र गुनासो यो छ कि मेरो बारेमा कुरा काट्दै, अपमान गर्दै तथा विभिन्न आरोप लगाउँदै हिँड्नु भएन ।' १७ वर्षसम्म भुवनको हाउसवाइफ भएर बसेकी सुस्मिताले आउँदा दिनमा कोहीसँग पनि आफ्नो बारेमा नकारात्मक टिका-टिप्पणी नगर्न मेरो अनुरोध समेत गरेकी छिन् ।
भुवनले आफूलाई रोडबाट टिपेर रोडमै फालेको भन्दा निकै दु:ख लागेको सुस्मिताले बताईन् । उनले बरू भुवनलाई नै आफूले रोडबाट उठाएर ल्याएको सो अर्न्तवार्तामा बताएकी छिन् । यसैगरी भुवनले करोडपति चलचित्र बनाउँदा सासूससूराले दिएको १३ लाख रुपैयाँ अहिले सम्म पनि फिर्ता नगरेको बताएकी छिन् । अहिले सम्म नतिरेको सो रकम भुवनले साथी म तिम्रो रिलिज भएपछि दिने बताएको सुस्मिताले जानकारी गराएकी छिन् । यदि भुवनले सो रकम फिर्ता नगरे कानुनको सहायता पनि लिनसक्ने बताएकी छिन् ।
नयाँ चलचित्रको निर्माण गर्ने तरखरमा जुटेकी सुस्मिताले भुवनसँग आर्थिक बिषयमा र छोराको बिषयमा मात्र कहिलेकाहिं कुरा हुने गरेको बताउँछिन् । भुवनसँग कानुनी रूपमा सम्बन्ध विच्छेद गरिसकेकाले सुस्मिताले अब आँफूलाई सुस्मिता केसी नभएर सुस्मिता लामा भनेर सम्बोधन गर्न सबैलाई आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, म लामाकी छोरी हूँ त्यसैले अबको मेरो परिचय सुस्मिता लामा हुनेछ ।'