मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई अध्यक्ष बिच जुहारी

फिल्मीखबर, काठमाण्डौ, 2011/05/06

शुक्रबार दिउँसो करिब सवा दुई बजेतिर हलवाला तथा बितरकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल दलबल सहित निर्देशक समाजको कार्यालयमा आए । करिब एक दर्जन व्यक्तिहरूको दलबल समाजको कार्यालयमा देखिंदा लाग्थ्यो त्यहाँ कुनै अप्रिय घटना हुन गईरहेको छ । तर त्यस्तो घटना केहि घटेन । समाजको कार्यालयमा कुनै अप्रिय घटना नघटेपनि चलचित्र संघका अध्यक्ष पोखरेल र निर्देशक समाजका अध्यक्ष केपि पाठक बिच भने जुहारी  नै चल्यो । एकले अर्काको घोचपेच गर्नमा व्यस्त थिए ।

 


प्रसङ हो भर्खरै निर्वाचित भएको नेपाल चलचित्र संघका नयाँ पदधिकारीहरूलाई निर्देशक समाजले गरेको सम्मान कार्यक्रमको । सम्मान कार्यक्रममा सम्मानित समाजको कार्यालयमा मुसुक्क मुस्कुराएर छिरेका पोखरेल केहि बेरमै चलचित्रकर्मी र निर्देशकहरूको अगाडी आक्रोशित रूपमा प्रस्तुत भए ।  उनले करिब आधा घण्टा सम्म आक्रोशित भएर भाषण गरे । नेपाली चलचित्र उधोग भित्र डरलाग्दो राजनिती भईरहेको अवस्थामा संघले आफूहरूलाई सम्मान गर्न लाग्दा निर्देशकहरू प्रति अध्यक्ष पोखरेलले शंका व्यक्त गरे । उनले भने, 'यदि यो सम्मान आत्मा देखि नै खुसीसाथ गर्नुभएको हो भने हामी खुसी छौं तर सम्मान भित्र कुनै खेल छ भने हामीलाई त्यो स्विकार हुने छैन ।'

 

निर्देशकहरू प्रति लक्षित गर्दै पोखरेलले भने, 'नेपाली चलचित्रकर्मीहरू जबसम्म राजनितीलाई छोडेर चलचित्रलाई व्यवसायिकतामा ढाल्न सक्दैनन् तब सम्म उधोगको बिकास सम्भव छैन ।' नेपालका चलचित्रकर्मीहरूले नेपाल चलचित्र संघलाई अछुत मान्दै आएको आरोप लगाउँदै अध्यक्ष पोखरेलले यस्तै सोचाईले गर्दा नै हलवालाहरूसँग निर्माता तथा निर्देशकहरूको कुरा मिल्न नसकेको बताए । निर्देशक भनेका सर्जकहरू भएकाले उनीहरूलाई आफूहरूले सम्मान गर्ने बताउँदै अध्यक्ष पोखरेलले कतिपय निर्देशकहरू आफ्नो स्वार्थका लागी नेपाली चलचित्र उधोगमा आएकोले त्यस्ता व्यक्तिलाई निरूत्साहित गर्नुपर्ने पनि बताए ।
 

 

नेपाली चलचित्र उधोगलाई व्यवसायिकतामा परिणत नगरेसम्म चलचित्रकर्मी बिच लडाईं भई नै रहने पोखरेलको भनाई थियो ।  आफू नचाहँदा नचाहँदै पनि संघको अध्यक्ष पदमा आउनु परेको बताउँदै अध्यक्ष पोखरेलले भने, 'मेरो तीन बर्षको कार्यकाल भित्रमा संघलाई जस्ले पनि प्रयोग गर्न सक्छ । यदि राम्रो कामका लागी संघलाई प्रयोग गर्नुहुन्छ भने म सहयोग गर्न तयार छु तर म नेपाली चलचित्रमा राजनिती हुन भने दिन्न ।'

 

यसरी अध्यक्ष पोखरेल आक्रोशित रूपमा प्रस्तुत हुँदा निर्देशक समाजका अध्यक्ष केपी पाठक पनि के कम ? उनी पनि अध्यक्ष पोखरेललाई आफ्नो सम्मान प्रति कुनै शंका नगर्न आग्रह गर्दै हलवालाहरूले पनि नेपाली चलचित्रको बिकासमा अबरोध सिर्जना खडा गरेको आरोप लगाए । उनले अध्यक्ष पोखरेल तर्फ फर्किंदै भने, 'तपाईं हलवालाहरूको मनोमानीले गर्दा नेपाली चलचित्रको बिकास हुन सकेको छैन । त्यसैले तपाईंहरूले पनि आफ्नो कमजोरीलाई सुधार गर्नुपर्ने हुन्छ ।'

 

'चाँदीको भाँडोमा पकाएको खानेकुरा चाँदीकै भाँडोमा खाँदा मिठो हुन्छ तर हलवालाहरूले चाँदीको भाँडोमा खान दिएका छैनन्', पाठकले भने, 'देशमा सञ्चालित अधिकांश हलहरू गुणस्तरिय छैनन् जसले गर्दा दर्शकहरूले राम्रो चलचित्रको मूल्याङ्कन गर्न सकेका छैनन् ।' राम्रा सिनेमाहरू पनि दर्शकको नजरमा नराम्रो भएकोले चलचित्र व्यवसायिक रूपमा सफल हुन नसकेको बताउँदै पाठकले निर्माता तथा निर्देशकहरू हलहरूको अवस्था प्रति असन्तुष्ट रहेकाले त्यो असन्तुष्टी कम गर्न चलचित्र संघलाई आग्रह गरे । उनले भने, 'हामी राम्रो चलचित्र बनाएर दिने कोसिस गर्ने छौं । हलवालाहरू पनि 'बाँच र बचाउ' को अभियानमा लाग्नु पर्छ ।'
 

 

निर्देशक पाठक र हलवालाहरूका लिडर पोखरेल बिच केहि बेर जुहारी चलेपनि अन्तमा उनीहरूले नेपाली चलचित्रलाई साँच्चिकै उधोगको रूपमा स्थापित गर्ने हो भने सबै संघसंस्था फुटेर हैन जुटेर जानु पर्ने बताउँदै खुसीसाथ अंकमाल गरेका थिए । निर्देशक समाजद्वारा चलचित्र संघका नयाँ कार्यसमितीलाई स्वागत तथा सम्मान कार्यक्रममा चलचित्रकर्मी बिश्व बस्नेत, दिपक रायमाझी, ज्ञानेन्द्र देउजा लगायतले चलचित्रको बर्तमान समस्याको बारेमा बोलेका थिए ।