आजभन्दा करिब ३३ बर्ष अघि निर्माण गरिएको चलचित्र 'सिन्दूर' का नायक बिश्व बस्नेतले 'स्कुल' नामक चलचित्रको निर्देशन गर्ने तयारी गर्दैछन् । आध्यात्मक तथा सन्देश मुलक सो चलचित्रको कथा उनैले लेखेका हुन् ।
गीत रेकर्डिङको तयारी गरिरहेका बस्नेतको चलचित्र 'स्कुल' को छायाँकन करिब दुई महिना भित्रमा शुरू गरिने भएको छ । चलचित्रमा भुपेन्द्र रायमाझीको संगीत तथा चेतन कार्कीको गीत रहने छ भने कलाकार र अन्य प्राबिधिकको छनोट कार्य भईरहेको छ । लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय भएर लागेका बस्नेतले यस अघि नाता, चलचित्र,एकादेशमा, एस्तै रहेछ जीन्दगी जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।
सिन्दूर, अन्याय, यस्तै हुन्छ पिरती, दासढुंगा लगायतका थुप्रै चलचित्रमा अभिनय गरिसकेका बस्नेत अन्याय र एकादेशमा चलचित्रको निर्माता पनि हुन् । नेपाली चलचित्रको बारेमा राम्रो ज्ञान भएका बस्नेतले भर्खरै मात्र नेपाली सिनेमा र साहित्यका बिषयमा आधारित रहेर कविता संग्रह पनि प्रकाशित गरेका छन् । अंग्रेजी भाषामा लेखिएको सो कविता संग्रहमा मायाप्रेम, देशप्रेमका, प्रकृतीप्रेम, नेपाली संस्कृतीको साथमा नेपाली चलचित्रका बारेमा लेखिएका कविताहरू छन् । पुस्तकको केहि समय अगाडी बिमोचन पनि गरिएको थियो ।