ए पण्डित बाजे, हलचल, मेरो के गति हुने हो जस्ता चलचित्र निर्देशन गरेका शिबभक्त निर्देशक सुनिल पाण्डे 'हल्लो प्रकृती' भन्दै यतिखेर हेटौंडा आईपुगेका छन् । 'हल्लो प्रकृती' नामक चलचित्रको छायाँकनका लागी सुनिल सहितको सुटिङ युनिट ४ दिन अघि हेटौंडा आएको हो ।
दृष्टी प्रोडक्सनको व्यानरमा प्रबिण भट्टराईले लगानी गर्ने सो चलचित्रको सम्पूर्ण छायाँकन मकवानपुर जिल्लामा नै गरिने निर्देशक पाण्डेले फिल्मीखबर डटकमलाई जानकारी दिए । थोरै बजेटमा निर्माण गर्न लागिएको सो चलचित्रमा सुमिना घिमिरे, शुसिल पोखरेल, रश्मी भट्ट, बिधा कार्की लगायतले अभिनय गर्दैछन् भने यसै चलचित्रबाट अनिल थापाले डेब्यू गर्दैछन् । कमेडी लभस्टोरी कथामा निर्माण हुँदै गरेको सो चलचित्रको कथा शिबम् अधिकारीले लेखेका हुन् ।
यता यसै चलचित्रबाट करिब १४ बर्षपछि संगीतकार भुपेन्द्र रायमाझी कमव्याक हुँदैछन् । २०४७ मा चोटबाट चलचित्रको संगीत दुनियाँमा प्रवेश गरेका रायमाझीले चोटपछि मनकामना, गोपीकृष्ण, सौता, महादेवी, नाता, टुहुरो, सोल्टिनी आदि चलचित्रमा संगीत दिए । रायमाझीले त्यस बेला जति पनि चलचित्रमा संगीत दिए ति सबै सफल नै रहे । सोल्टिनी पछि एक्कासी चलचित्र संगीतबाट रायमाझी हराए। अहिले उनी पुन: जुर्मुराएका छन् ।
३५ दिन भित्रमा छायाँकन सक्ने लक्ष्य लिईएको चलचित्र 'हेल्लो प्रकृती'कविराज गहतराजको नृत्यनिर्देशन र रामशरण उप्रेतीको छायाँकन रहेको छ भने चलचित्रमा द्वन्दका दृश्य समावेश नगरिने भएको छ ।