छोटो समयमै संगीतले चर्चा पाएको चलचित्र 'म तिम्रो भईसकें' को अहिले महाराजगंज स्थित रेड स्टुडियोमा सम्पादन भईरहेको छ । रेड क्यामेराले छायाँकन गरिएको सो चलचित्रको सम्पादन पनि रेड स्टुडियोमै गरिएको हो । चलचित्रको सम्पादन अर्जुन जि.सी. ले गरिरहेका छन् ।
भदौ या असोज महिनामा सार्वजनिक गरिने भनिएको सो चलचित्रलाई बिकाश आचार्यले निर्देशन गरेका हुन् । वान टाईम सिनेमा प्रालिले निर्माण गरेको सो चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, बिज्ञान सापकोटा, रामकृष्ण बजगाईं लगायतले अभिनय गरेका छन् । बिकाश आचार्यकै लेखन रहेको चलचित्र सांगितीक प्रेमकथामा आधारित रहेको छ ।
कालिञ्चोक, धरान, बिराटनगर लगायतका स्थानमा छायाँकन गरिएको सो चलचित्रका गीतहरू छिट्टै नै सार्वजनिक गरिने निर्देशक आचार्यले फिल्मीखबरलाई जानकारी गराए । बसन्त सापकोटाको संगीत रहेको चलचित्रका गीतमा दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने गीतहरू शैलेश आचार्य र दयाराम पाण्डेले लेखेका हुन् । चलचित्रमा जम्मा तीन गीत समावेश गरिएको छ ।
यस युनिटले यो भन्दा अगाडी नाइ नभन्नु ल निर्माण गरेको थियो जुन व्यवसायिक रूपमा मात्र नभएर सांगितीक रूपमा पनि सफल भएको थियो । अहिले यो युनिट नाइ नभन्नु ल भन्दा पनि बढि सफल हुनेमा ढुक्क छ । किनकी निर्देशक आचार्यका अनुसार नाइ नभन्नु ल मा गरिएका गल्तिहरूलाई ध्यानमा राखेर यो चलचित्रलाई राम्रो बनाएको दाबी गरेका छन् ।