हुनत अझै पनि निर्माताहरू कपडाकै लागि भनेर बजेट छुट्याउन चाहँदैनन् । उनीहरू सकेसम्म कलाकारहरूले नै आफ्नो कपडा प्रयोग गरिदिए हुन्थ्यो भन्ने ठान्छन् । तर केहि बुझेका निर्माताहरूले भने अहिले कपडामा बिशेष ध्यान दिन थालेका छन् । जसरी घरको शोभा बढाउन र घरलाई सुन्दर देखाउन रङको प्रयोग गरिन्छ त्यसैगरी चलचित्रलाई राम्रो बनाउन र नायक/नायिकाहरूको सुन्दरतामा निखार ल्याउन पोशाकको पनि महत्वपूर्ण भूमिका रहने भएकाले निर्माताहरूको पोशाकमा ध्यान पुग्न थालेको छ ।
कलाकारहरू पनि आफू सुन्दर देखिन र चलचित्रको गुणस्तरियता देखाउन चलचित्रमा काम गर्नुपूर्व निर्माताले राम्रो ड्रेस उपलब्ध गराउनु पर्ने सर्त राख्ने गरेका छन् । यसरी सर्त राख्ने मध्येकी एक नायिका हुन् नन्दिता केसी । चलचित्रमा राम्रो ड्रेस प्रयोग गर्दा कलाकारको पर्सनालिटी मात्र नभएर चलचित्र पनि रिच देखिने हुनाले ड्रेसमा कम्प्रमाईज गर्न नहुने उनको भनाई छ । उनी भन्छिन्, 'चलचित्रको कथा अनुसार ड्रेस पनि राम्रो हुनुपर्छ नत्र दर्शकले पनि छि ! भन्न पछि पर्दैनन् । किनकी आज भोलीका दर्शकहरू धेरै शिक्षित भईसकेका छन् ।'
चलचित्रको गीतमा मात्र नभएर अन्य दृष्यमा पनि ड्रेसलाई प्राथमिकता दिनुपर्ने नन्दिताको भनाई छ । धेरै चलचित्रका दृष्यमा ड्रेसका बारेमा सम्झौता गर्ने चलन चलेको अनुभव सुनाउदै नन्दिता भन्छिन्,'आजभोली निर्माताहरू धेरै बुझ्ने भईसकेका छन् र हुनुपर्छ पनि ।' कलाकारको पहिरन देखेर दर्शकले नक्कल गर्ने गरेकाले पनि चलचित्रमा राम्रो ड्रेस अनिवार्य हुनुपर्ने नन्दिता बताउँछिन् । एउटा चलचित्रमा लगाएको ड्रेस अर्कोमा प्रयोग गर्न नहुने भन्दै नन्दिता भन्छिन्, 'लाखौंको चलचित्र निर्माण गर्दा ड्रेसमा १/२ लाख खर्च गर्न निर्माताहरू डराउन हुन्न ।'
राम्रो ड्रेस लगाउन चाहे पनि उनी आफ्नो एक पैसा पनि ड्रेसमा खर्च भने गर्न मान्दिनन् । कलाकारको पारिश्रमिक थोरै हुने भएकाले ड्रेस निर्माताहरूले नै दिनुपर्ने यि नायिकाको भनाई छ । म्युजिक भिडियोहरूमा पनि आफ्नो ड्रेस प्रयोग गर्न छाडिसकेको नन्दिताको भनाई छ । आफूले नै किन्दा धेरै खर्च हुने हुनाले ड्रेसमा कम्प्रमाईज हुन सक्ने भएकाले ड्रेस प्रोडक्सनकै प्रयोग गर्ने गरेको उनको भनाई छ ।
नन्दिताको अनुभवमा चलचित्र बाटो मुनिको फूल, भनिदेउ न माया गर्छु, मालतीको भट्टी, मृगतृष्णा, सपना जस्ता चलचित्रमा ड्रेस राम्रो प्रयोग गरिएको छ । अझ प्रदर्शनको तयारीमा रहेको चलचित्र 'सपना' मा त निर्माता बसन्त कुमार श्रेष्ठले ड्रेसमा मज्जाले नै खर्च गरेका छन् रे । नन्दिताको लागि मात्र एक लाख जति ड्रेसमा खर्च गरेको बसन्तको भनाई छ । सपनाको शिर्ष भुमिका निर्वाह गरेकी नन्दिताले सो चलचित्रमा अफिसियल देखि आजकलका युवायुवतीको रोजाईमा पर्ने खालका ड्रेस प्रयोग गरेको बताईन् ।
तर बुझ्नु पर्ने अर्को कुरा के छ भने, राम्रो ड्रेस प्रयोग गर्दैमा चलचित्र राम्रो बन्छ भन्ने हैन । 'बाहिर बोक्रो भित्र खोक्रो' भन्ने उखान लागु हुन सक्ने स्थिती पनि रहन सक्छ । त्यसैले कलाकारले जीवन्त अभिनयमा पनि ध्यान दिनुपर्ने हुन्छ । तर कुशल अभिनयसँगै लोकेशन र ड्रेसको राम्रो संयोजन भएको खण्डमा सुनमा सुगन्ध थपिने कुरामा दुईमत भने नहोला ।