फरक धारका चलचित्र निर्देशन गर्न रुचाउने निर्देशक माओत्से गुरुङको पछिल्लो चलचित्र 'एन इन काउण्टर' को छायाँकन जापानमा भै रहेको छ । एक महिना अघि जापानमा नै शुभ मुहुर्त गरी छायाँकन थालिएको सो चलचित्रको जापानमा गरीने छायाँकनको ९५ प्रतिशत भाग छायाँकन सकिएको निर्देशक गुरूङले फिल्मीखबरलाई जानकारी दिए ।
जापानको टोकियो शहरमा रहेका गुरूङले टेलिफोन मार्फत चलचित्रमा जापानमा काम गर्न पुगेका नेपालीहरुलाई अभिनय गराएकोले केही कलाकारहरुको ड्यूटीमा समय नमिलेका कारण सुटिङ लम्बीएको जानकारी दिए । त्यसैगरी पछिल्लो समयमा गर्मी निकै बढेकोले गर्दा पनि छायाँकनमा केहि समस्या आएको उनले बताए । उनले भने,'नेपालमा भन्दा यहाँ गर्मी निकै बढेको छ । सुटिङ थालेको एक महिना नै भयो तर अझै सकिएको छैन ।'
अबको दुई तीन भित्रमा जापानमा छायाँकन सकेर युनिट नेपाल फर्कन समेत निर्देशक गुरूङले जानकारी दिए । नेपाल आएपछि बाँकी भागको छायाँकन पर्यटकिय नगरी पोखरा र घान्द्रुकमा गरिने उनको भनाई छ । चलचित्रमा जापान तमुधिका अध्यक्ष यम गुरुङ, सिमा गुरुङ, हर्क गुरुङ, युक्तमान गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्राबिधिक पनि जापानकै रहेको निर्देशकले बताए । निर्देशक गुरूङ भने पोखरेली हुन् ।