राजेश हमालको फिल्मी करियरमा नै फरक गेटअपमा उतारिएको चलचित्र 'हात लाग्यो शून्य' को निर्माण टोलीले पूर्वी नेपालमा चलचित्रको प्रचार प्रसार गरेको छ । प्रमोशनका लागी चलचित्र निर्देशक विजय विक्रम वस्नेत, निर्माता विश्व नेपाल, कलाकार शिव आचार्यलगायतका टोली पूर्व आएका थिए ।
दमक, धरान, इटहरी, बिराटचौक, बिर्तामोड लगायतका पूर्वी नेपालका क्षेत्रमा चलचित्रको युनिट पुगेर प्रमोशन गरेको थियो । चलचित्रको युनिटले स्थानिय एफएम टिभी र पत्रिकाका सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर चलचित्रको बारेमा जानकारी गराएको थियो । भ्रमणको क्रममा पूर्वका विभिन्न एफएममा चलचित्रका गीतहरु प्रिमियर समेत गरिएको थियो । पूर्वी नेपालको दूई दिने भ्रमण चलचित्रको लागी उपलब्धी मूलक भएको युनिटले जनाएको छ ।
प्रमोशन कै क्रममा पूर्व प्रथम पटक आएका निर्माता विश्व नेपाल पनि चलचित्रले प्रदर्शन पूर्व चर्चा बटुलेकोले सफलता प्रति विश्वस्त छन् । श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र 'हात लाग्यो शून्य' लाई शुभकृष्मा पराजुली, भगवती नेपाल र लक्ष्मी क्षेत्रीले निर्माण गरेका हुन् । जेष्ठ महिनाको अन्तिम साता या असारमा रिलिज गर्ने तयारी गरिएको सो चलचित्रमा महानायक राजेश हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् ।
विकास चौधरीको संगीत, रामजनकको द्धन्द्ध, लोकचन्द्र थापाको छायाँकन र निर्देशक बस्नेतकै नृत्यनिर्देशन रहेको चलचित्र 'हात लाग्यो शून्य' मा महानायक धनाढ्य तर मख्खीचुस मधेसी पात्रको भूमिकामा प्रस्तुत भएका छन् । बाक्लो जुँगा सहित धोती-कुर्ता, जुवारीकोट, काँधमा गलबन्दी र झोला, हातमा छाता, खुट्टामा चप्पल अनिपान चपाउँदै थोत्रो स्कुटरमा चढेर दर्शकलाई हसाउन आउन लागेको महानायकको भनाई छ ।