शरीरलाई तन्दुरस्त राख्नको लागि मैले बिहानमा फिट्नेशको क्लास लिने गरेकी छु । उक्त क्लासमा म छ बजे पुग्नुपर्ने हुन्छ । त्यसैले म सधै बिहान साढे पाँच बजेभन्दा अगाडि नै उठिसकेकी हुन्छु । उठेर नित्यकर्म गरेपछि फ्रेस हुन्छु र कफी लिन्छु अनि क्लास लिन जान्छु ।
बिहान ९ बजेसम्म क्लासमै हुन्छु तर सुटिङ भएको समयमा नौ बजे नै सुटिङ स्पटमै पुगि सक्नुपर्ने हुन्छ । त्यो समयमा म फिटनेस क्लासलाई छोट्याएर सुटिङमा जान्छु तर अहिले कुनै मुभिको सुटिङ छैन त्यसैले खासै व्यस्त छैन । एउटा विज्ञापनमा अभिनय गरिरहेकी छु । त्यसलाई त्यति समय दिनु नपर्ने भएकोले आजकाल म क्लासबाट साढे नौ बजेमात्र घर फर्किन्छु । घरमा आएपछि एकछिन फ्रेस भएर ब्रेकफास्ट लिन्छु । ब्रेकफास्टमा पनि म अण्डा, ब्रेड, जुस र काँक्रो गाजरजस्ता सलादहरु लिन्छु ।
काम भए बाहिर निस्कन्छु नभए फाल्तु काममा बाहिर निस्किन्न । घरमै पत्रिका टिभी हेरेर बस्छु । म टिभी कार्यक्रमको प्राय रियालिटी शो बढी मन पराउँछु । डान्सका कार्यक्रमहरू पनि धेरै नै हेर्छु । सिरियलहरू खासै मन पराउँदिन तर कहिलेकाँही सिआइडी जस्ता सिरियलहरू हेर्छु र न्यूज च्यानलहरु पनि हेर्ने गर्छु । टिभी हेरिसकेपछि एक छिन इन्टरनेट चलाउँछु र समाचारहरु हेर्छु । फेसबुक पनि एकछिन चलाउँछु र फेसबुकको स्टाटस अपडेट गर्छु । चिनेका साथीहरू अनलाईनमा भेटे एकछिन च्याट पनि गर्छु । त्यसपछि ११/१२ बजेको समयमा परिवारसँगै बसेर खाना खान्छु ।
सुटिङको बेला दिनभरी नै सुटिङ मै व्यस्त भइन्छ । अब छिट्टै नै सुटिङको लागि सिक्किम जाँदैछु तर आजकाल दिनभरी घरमै बस्छु । कहिलेकाहीं फिल्म हेर्न सिनेमा घर पनि जाने गर्छु । घरमा बहिनी, बुबा, दिदीको छोरी, दादाको छोराहरु छन् । उनीहरुसँगै रमाइलो गरेर गफ गरेर दिन कटाउँछु । दिउँसोमा घरपरिवार सबैले खाजा खान्छन् तर मैले खान्न । किनकी मैले खाजा खाएँ भने साँझ खाना खान मन लाग्दैन । त्यसैले साँझको खाना नै मलाई मन पर्छ । तर साँझको मेरो खाना रोटी हुन्छ ।
साँझ परेपछि पनि एकछिन् टिभी कम्प्यूटरमै भुल्छु । अनि सात/आठ बजेतिर खाना खान्छु । कहीलेकाँही थकाइ लागेको बेला ८/९ बजे नै सुतिदिन्छु तर प्रायः म ११/१२ बजे भन्दा चाँडो सुत्दिन ।