नेपाल पेभिलियन कम्पनी र लिथुवानियाँ राजदुतावासको संयुक्त आयोजनामा राजधानीमा दुई दिने नेपाल लिथुवानियाँ चलचित्र महोत्सव शुरू भएको छ । आज शनिबार कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा महोत्सवको उदघाटन गरियो ।
उदघाटनसँगै महोत्सवमा लिथुवानियाँको ८ मिनेटको 'फ्लाईट ओभर लिथुवानिया अर ५१० सेकेण्डस् अफ साइलेन्स' नामको वृत्तचित्र देखाईयो । नेपाली चलचित्र तर्फ भने 'दासढुंगा' स्क्रिनिङ गरियो । यसैगरी आजै नेपाल भाषाको 'पटचारा' र लिथुवानियाँको 'यू एम आई' स्क्रिनिङ गरिंदैछ । नेपाल र युरोपको उत्तरी भेगमा पर्ने मुलुक लिथुवानियाँ र नेपाल बिचको कला संस्कृति आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा आइतवार नेपालको तर्फबाट 'बाटो मुनिको फूल' र एउटा पर्यटन सम्बन्धि वृत्तचित्र स्क्रिनिङ गरिने छ भने लिथुवानियाँको तर्फबाट 'फेयरवेल' र अर्को एक चलचित्र स्क्रिनिङ गरिंदै छ ।
नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायाँकनको लागि उपयुक्त स्थलको रूपमा बिश्व सामु स्थापित गर्ने, लिथुवानियाँको सरकारी टेलिभिजनबाट उत्कृष्ट नेपाली चलचित्र सब्टाइटल गरी प्रसारण गर्न पहल गर्ने तथा एकअर्काको देशमा बन्ने चलचित्रमा कलाकारलाई अभिनयको मौका दिने मुख्य तीन उद्देश्य सहित आयोजना आयोजना भएको सो महोत्सवको जुरीको रूपमा बरिष्ठ निर्देशक त्रय लक्ष्मीनाथ शर्मा, किशोर राना र रमेश बुढाथोकी रहेका छन् । उनीहरूले नै नेपाली चलचित्रको छनोट गरेका हुन् ।
महोत्सवमा प्रदर्शन गरिएका चलचित्रहरू मध्येबाट एक उत्कृष्ट नेपाली कलाकारलाई लिथुवानियाँको चलचित्रमा अभिनय गर्ने अवसर प्रदान गर्ने र एक उत्कृष्ट लिथुवानियाँली कलाकारलाई रेश मरहठ्ठाले निर्माण गर्न लागेको चलचित्र 'ट्राभल टु भेगास' मा अभिनय गर्ने अवसर प्रदान गर्ने सम्झौता गरिएको छ । यसैगरी महोत्सवकै अवसार पारेर आइतवार बरिष्ठ निर्देशक प्रताप सुब्बा र एक प्राविधिक महेन्द्र लामालाई सम्मान गरिन लागेको महोत्सवका संयोजक बिमल पौडेलले जानकारी गराए । महोत्सवमा सम्मानित हुन लागेका निर्देशक प्रताब सुब्बाले निर्देशन गरेको चलचित्र 'परालको आगो' पनि देखाईने भएको छ ।