राष्ट्रिय स्वाधिनताको विषयमा बनेको नेपाली चलचित्र दशगजाका निर्माता एवं नायक नवल खड्का जहाँ जान्छन् त्यहाँ बोली हाल्छन्, 'मेरो चलचित्र रोक्नलाई चार करोडको प्रस्ताव आयो र मैले ठाडै अस्विकार गरिदिएँ किनकी मेरो चलचित्र देश र जनताको लागि हो ।' यहि वाक्यले गर्दा नै उनले आफ्नो चलचित्रको सस्तो प्रचारबाजी गरेको बुझ्न सकिन्छ ।
शनिबार दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्माता खड्काले प्रदर्शन भईरहेको चलचित्र 'दशगजा' लाई प्रदर्शन पूर्व नै नचलाउन भारतिय राजदूतावासले आफूलाई चार करोडको प्रलोभन देखाएको बताए । आफू राष्ट्रिय स्वाधिनताको पक्षमा लागेको हुँदा भारतीय प्रलोभन र धम्कीले कुनै प्रभाव नपारेको उनको भनाई थियो । आफूलाई भारतीय दुतावासले कालो सूचीमा राखेको र दशगजालाई भारतमा प्रर्दशन गर्न प्रतिबन्ध लगाएको समेत खड्काले जानकारी दिए ।
भारतीयहरुले नेपाली भुमि अतिक्रमण गरी नेपाली जनतालाई आफ्नै भूमिमा शरणार्थी जीवन जीउन बाध्य बनाएको र भारतको सो कार्यको प्रतिरोध गर्ने नेपाली जनताको संघर्षको कथा समेटिएको चलचित्र दशगजा निर्माणको क्रममा भारतीय पक्षले आफूलाई दुःख दिने गरेको खड्काले बताए । भारतले नेपालको हरेक क्षेत्रमा हस्तक्षेप गरेको बताउँदै त्यस विरुद्ध जनतालाई सचेत गराउन आफूले दशगजा निर्माण गरेको उनको भनाई थियो । भुटानी शरणार्थी समस्या पनि भारतकै कारण भएको भन्दै खड्काले भुटान र नेपालमा राजनीतिक अस्थिरता मच्चाएर भारतले आफ्नो स्वार्थ पूर्ति गर्ने तर्फ लागेको बताए ।
यसका साथै व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले पनि दशजगा प्रति चासो देखाएको उनले जानकारी दिए । ८४ लाखको लागतमा निर्माण गरिएको सो चलचित्रले प्रदर्शनको छोटो अवधिमै सो रकम उठाईसकेको उनको दावी थियो । निकट भविष्यमा अमेरिका, मलेसिया, कतार, दुवई लगायतका देशहरुमा पनि प्रदर्शन गर्ने तयारी भएको उनले जनाए । खड्काले यस अघि माओवादी जनयुद्धको कथामा आधारित आवाज चलचित्र निर्माण गरेका थिए भने आगामी चलचित्र शहीद भिमदत्त पन्तको कथामा आधारित रहेर चलचित्र 'भिमदत्त' निर्माण गर्ने योजना रहेको उनले जानकारी गराए ।
उत्तरशीला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेले दमौलीका दर्शकले चलचित्र अत्यन्त मन पराएको बताए । पहिलो दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको उनको भनाई थियो । एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरुले पनि दशगजा हेर्न चाहेको आफूले जानकारी पाएको पाण्डेले बताए । राजनीतिक दलका नेताहरुले राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वाभिमानको विषयलाई भाषणमा मात्र समेटेको तर व्यवहारमा उर्तान नसकेको चलचित्रमा देखाइएको छ । चलचित्रमा नेपाल-भारत सीमाको नवलपरासीको सुस्ताक्षेत्रका नेपालीहरुको पीडालाई समेटिएको छ । दशगजाले राष्ट्रियताको पक्षमा आवाज उठाउने क्रममा छिमेकी देश भारतले आफ्नै भूमि मिच्दा पनि कुटनीतिक पहल गर्न नसक्ने सरकारका मन्त्री र नेताहरुलाई तिखो व्यङ्ग्य हानेको छ ।
दयाराम दाहालको निर्देशनमा बनेको दशगजाले सुस्तामा भारतीय पक्षबाट मिचिएको १४ हजार हेक्टर भूमिको खोजी गर्ने क्रममा भारतीय सुरक्षा बलसँग गरेको संघर्षलाई राष्ट्रियताको पक्षमा देखाइएको छ । बारम्बारको सेन्सर अवरोधपछि केही संवादलाई सम्पादन गरिएकै अवस्थामा देखाइएको चलचित्रमा कुटनीतिक सम्बन्धमा समेत असर पर्न सक्ने गरी भारतको नामै तोकी सीमा मिचेको आरोप लगाइएको छ । चलचित्रमा महानायक राजेश हमाल, निखील उप्रेती, नवल खड्का, रञ्जिता गुरुङ्ग, शुभद्रा अधिकारी, प्रेम सुब्बा लगायतको मुख्य भूमिका रहेको छ ।